२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

रेडियो नेपाल २०७८ माघ १४ गते १८:१२

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ । 

विदेशमा रोजगारीको अवसर प्राप्त भइसकेपछि मन्त्रालय अन्तर्गतका निकायहरूबाट श्रम स्वीकृति नलिई विभिन्न बहानामा वैदेशिक रोजगारीमा जानु पूर्णतः गैर कानुनी कार्य भएको मन्त्रालयले जनाएको छ । 

वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुकहरू, दक्षिणपुर्वी एसियाली मुलुकहरू, युरोपेली तथा अमेरिकी मुलुकहरू र अफ्रिकी महादेशका केही देशहरूमा गैर कानुनी रुपमा पुर्‍याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी मन्त्रालयमा विभिन्न माध्यमबाट दिनहुँ गुनासो आउने गरेको भन्दै यसरी राम्रो रोजगारी र आकर्षक तलब सुविधा पाउने लोभमा प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट वैदेशिक रोजगारीमा जान नमिल्ने भन्दै यसतर्फ सचेत भई गन्तव्य मुलुकको बारेमा पूर्ण जानकारी लिएर मात्र वैदेशिक रोजगारीमा जान मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सबैमा अपिल गरेको छ । 

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका कयौँ मुलुकमा नेपाली नागरिकलाई अलपत्र पारेको भनी मन्त्रालयमा इजाजत पत्र प्राप्त संस्थाहरू, शैक्षिक परामर्शदाता संस्थाहरू, ट्राभल्स एजेन्सीहरू र विभिन्न बिचौलियाहरू विरुद्ध उजुरीहरू प्राप्त भएको भन्दै मन्त्रालयले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई विदेशी भूमिमा अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन मन्त्रालय प्रतिबद्ध रहेको मन्त्रालयका सहायक प्रवक्ता डा.थानेश्वर भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

मन्त्रालयले वैदेशिक रोजगारीका सम्बन्धमा आएका विभिन्न गुनासा तथा उजुरीका सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयका सह सचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको, मन्त्रालयको तर्फबाट वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा तत्काल प्रतिउत्तर कार्य टोली (Rapid Response Team)  र उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरी नेपाल प्रहरीको समेत सहभागितामा दोषीउपर कडा कारबाही गर्न प्रारम्भ गरिएको जनाएको छ । 

मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम सङ्कलन, ठगी लगायतका विषयमा सम्बद्ध निकायलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ र अन्य सम्बद्ध कानुनबमोजिम कारबाही गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालय बाध्य हुने जनाउँदै यस्ता कार्यमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरा ल्याउन सहयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । 

त्यसका लागि मन्त्रीको सचिवालयको मोबाइल नम्वरः ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्बर +९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सैँ घण्टा गुनासो र समस्या टिपाउन सकिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ  । 

सम्बन्धित