जनकपुरधाम । सडक डिभिजन कार्यालय जनकपुर मुजेलियामा तीन जनालाई नक्कली नियुक्ति दिएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका वडा नंं १ बस्ने वर्ष २५ का शहादत राइन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । राइनले सोही ठाउँका वर्ष १९ वर्षीय बबलु पासमान, वर्ष २० का पारस कुमार पासवान र दीपेश कुमार पासवानलाई सडक डिभिजन कार्यालय जनकपुरमा सुपरभाइजर पदमा जागिर दिएको भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
सडक डिभिजन कार्यालय मुजेलियाको लेटर प्याड, सरकारी छाप किर्ते गरी उनीहरूलाई सुपरभाइजर पदको नियुक्ति पत्र, मासिक तलब र पदसम्बन्धी उम्मेदवारको सम्झौता पत्र दिएर ठगी गरेको आरोप सहितको उजुरी परेपछि राइन पक्राउ परेका हुन् ।
सडक डिभिजन कार्यालयमा सुपरभाइजर पदको जागिर दिएबापत तीनै जनाबाट राइनले जनही २ लाखका दरले ठगी गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।
पक्राउ परेका राइनले किर्ते गरेको समेत स्वीकार गरेकाले जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दा १० दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रजौरेले बताउनुभयो ।