तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रागिरि नगरपालिकाका विभिन्न सार्वजनिक स्थलमा निःशुल्क मास्क वितरण

काठमाडौँ । पछिल्ला दिनमा  बढ्दै गरेको ओमिक्रोन कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्न चन्द्रागिरि नगरपालिकाका विभिन्न सार्वजनिक स्थलमा निःशुल्क मास्क वितरण गरिएको छ । 

महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजद्वारा संयुक्त रुपमा  आयोजित ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत थानकोट, चेकपोष्ट, बलम्बु गुर्जुधारा, सतुङ्गल, तीनथाना, नैकाप, दहचोक जस्ता नगरका मुख्य क्षेत्रमा मास्क वितरण गरिएको थियो । 

कार्यक्रमको आज समापन गर्दै चन्द्रगिरि नगरपालिका  प्रमुख घनश्याम गिरीले कोरोना नियन्त्रणमा नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो“ आफूलाई पायक पर्ने स्थानमा गई कोरोना विरुद्धको खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न  म नगरवासीलाई आग्रह गर्दछु ।”

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिको सहकार्यमा आयोजित सो कार्यक्रममा  चन्द्रागिरि–१ का वडाध्यक्ष राजेन्द्र केसीले समाज रूपान्तरणमा जेसिज अभियान महत्त्वपूर्ण  रहेको जनाउँदै कोरोना महामारी रोकथाम र न्यूनीकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।  

चन्द्रागिरि–१३ का वडाध्यक्ष बालमुकुन्द विडारीले कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि ‘तपाईँको मास्क खै’ अभियान फलदायक रहेको विश्वास व्यक्त गर्नुभयो ।  

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक दिल्लीनारायण पाण्डेले जनचेतना कार्यक्रमले आम नागरिकको स्वास्थ्य सुरक्षामा प्रभावकारी भूमिका खेलेको जनाउँदै  सङ्क्रमणबाट बच्न र बचाउन मास्क अहिलेका लागि प्रभावकारी माध्यम रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो “ चेतना फैलाउने काम प्रहरीले निरन्तर जारी राख्छ  ।”  सो अभियानलाई समाजसेवी रामनारायण घिमिरेले मास्क सहयोग गर्नुभएको थियो । चन्द्रागिरि– १२ गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टरका सञ्चालक समेत रहनुभएका उहाँले कारोनाबाट बच्न र बचाउन सामूहिक जनचेतनाको आवश्यकता औँल्याउनुभयो । 

थानकोट जेसिज २०२२ का अध्यक्ष रोशन दानीले कोरोना महामारी नियन्त्रण, रोकथामका लागि थप जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “सामाजिक कामका लागि जेसिज सबैसँग सहकार्य तयार छ । ” 

संस्थापक अध्यक्ष नन्ददास अमात्यले बजार क्षेत्रमा सर्वसाधारण र सवारी चालकलाई मास्क वितरण अभियानका क्रममा  मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिनुभयो । 

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । 

प्रहरीले आम नागरिकलाई सङ्क्रमणबाट जोगाउनका लागि यसअघिदेखि नै मास्क वितरण अभियानलाई निरन्तरता दिइरहेको थियो ।

गत शनिबार माघदेखि सुरु भएको सो अभियान अन्तर्गत आजसम्म करिब १३ हजार जनालाई मास्क लगाउन प्रेरित गर्दै निःशुल्क मास्कसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा थानकोट जेसिजका पूर्व अध्यक्ष सलिम श्रेष्ठले थानकोट जेसिजको साताव्यापी कार्यक्रमलाई साथ सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै समुदायमा पर्ने हरेक समस्यामा थानकोट जेसिजले गर्नुपर्ने हरेक दायित्व लिन तयार रहेको बताउनुभयो । 

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू सलिम श्रेष्ठ, पेशलकुमार खतिवडा, मनोज श्रेष्ठलगायत बोर्डका पदाधिकारीको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button