तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा थपिँदै सुविधासम्पन्न होटेल

गलकोट। बागलुङमा सुविधासम्पन्न होटेल थपिँदै गएका छन् । बागलुङमा थपिँदै गएका पर्यटकीय गन्तव्यका कारण पर्यटकको आकर्षण बढिरहेको भए पनि कोरोनाका कारण अहिले समस्या छ । जिल्लामा सुविधासम्पन्न होटेल तथा रेस्टुराँ खुल्ने क्रम भने जारी नै रहेको छ ।

बागलुङमा पछिल्लो समय होटेल रेड एप्पल, होटेल दि राजन र सगुन होटेल सञ्चालनमा आएसँगै अहिले जिल्लाको प्रवेशद्वार कालिका मन्दिर गेटमा सुविधासम्पन्न ‘भिआइपी पर्यटक’होटेल सञ्चालनमा ल्याइएको छ । बागलुङ बजारभन्दा अलि तल शान्त वातावरणमा डिलक्स कोठासहित कालिका मल्टिप्यालेस नामक सुविधासम्पन्न होटेल सञ्चालनमा ल्याइएको छ । उन्नाइस वर्षदेखि होटेल व्यवसायमा जम्दै आउनुभएका अर्जुन चोखालले बागलुङ कालिका मन्दिर गेटमा सुविधासम्पन्न होटेल सञ्चालनमा ल्याउनुभएको छ । पाँच वर्ष काठमाडौँको ठमेल र १४ वर्षदेखि बागलुङ बजारमा होटेल समिट धवलागिरि सञ्चालन गर्दै आउनुभएका चोखालले कालिका मन्दिरमा आउने पाहुना लक्षित गर्दै ३५ बेड क्षमताको कालिका मल्टिप्यालेस सञ्चालनमा ल्याउनुभएको छ ।

विसं २०६५ बाट रु ४२ लाखको लागतमा बागलुङ बजारमा होटेल समिट धवलागिरि सञ्चालन गर्दै आउनुभएका चोखालले होटेल व्यवसाय फस्टाउँदै गएपछि कालिका मन्दिर गेटमा रु चार करोडको लागतमा कालिका मल्टिप्यालेस नामक होटेल हालैदेखि सञ्चालनमा ल्याउनुभएको छ । कोरोना महामारीको समयमा होटेल व्यवसायी समस्यामा पर्दै आए पनि दीर्घकालीन साेंचका साथ होटेल व्यवसायमा करोडांै लगानी गरेको होटेलका सञ्चालक अर्जुन चोखालले बताउनुभयो ।

चोखालले बागलुङ आएका पर्यटक बास बस्नकै लागि पोखरा पुग्ने अवस्थाको अन्त्य गर्न सुविधासम्पन्न होटेल सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले बागलुङमा स्टार होटेलको खाँचो रहेको बताउनुभयो । “होटेल व्यवसायमा लागेको १९ वर्षको अनुभवले होटेल व्यवसायको सम्पूर्ण आम्दानी होटेल व्यवसायमै लगानी थप्दै गएको छु”, उहाँले भन्नुभयो, “ विसं २०७३ मा सञ्चालनमा आएको कालिका मल्टिप्यालेमा बस्ने व्यवस्था थिएन, अहिले ३५ बेड क्षमताको एसी डिलक्स कोठासहितको सेवा थप गरेको छु, मल्टिप्यालेसमा मात्रै रु चार करोड लगानी गरिसकेको छु ।”

देशका विभिन्न स्थानबाट कालिका मन्दिर दर्शन गर्न आउने तर राम्रो होटेल नभएको भन्दै पोखरा फर्केर बस्ने परिपाटी रहेकाले मन्दिरको प्रवेशद्वारमा पर्यटक लक्षित गर्दै होटेल सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । होटेल व्यवसायी सङ्घ गण्डकी प्रदेशका संयोजक तथा बागलुङ पर्यटन विकास समितिका सचिवसमेत रहनुभएका चोखालले कालिका मल्टिप्यालेसले पाहुनालाई सन्तुष्टि दिने गरी होटेल सञ्चालनमा ल्याएको बताउनुभयो ।

जिल्लामा रिसोर्ट तथा स्टार होटेलको अझै खाँचो रहेको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । खड्काले ढोरपाटनमा सुविधासम्पन्न होटेल नभएकै कारण विदेशी पर्यटक हेलिकोप्टर चार्टर्ड गरेर ढोरपाटन आउने जाने गर्ने गरेको बताउनुभयो । ढोरपाटन आएका पर्यटकले समेत ढोरपाटनमा सुविधासम्पन्न होटेल नभएको भन्दै हेलिकोप्टर चार्टर्ड गरेर पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button