तपाईँ सुन्दै हुनुहुन्छः

मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २० औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो । पोखरा रङ्गशालामा खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा भने मनाङले बाजी मार्‍यो ।

पेनाल्टी सुटआउटमा मनाङका लागि फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गरे। तर, विश्व अधिकारीको प्रहार पोस्टमा लागेर फर्किएको थियो । आर्मीका लागि कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरे ।  दिपक गुरुङको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो भने युद्ध शाहीको प्रहार मनाङका गोलकिपर अशोक बरालले बचाएका थिए ।

अब मनाङले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।  मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button