२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

मरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि फुटबल टिमको घोषणा

रेडियो नेपाल २०७८ माघ १२ गते १८:१८

काठमाडौँ । नेपालले अफ्रिकी राष्ट्र मरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बुधवार दुई खेलका लागि टिम घोषणा गर्नुभएको हो । प्रशिक्षक अब्दुल्लाहले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गर्नुभयो । प्रशिक्षक अब्दुल्लाहले प्रशिक्षणमा रहेका ३४ खेलाडीलाई समेटेर दुई फरक टिम बनाउनुभएको हो ।

नेपालले दशरथ रङ्गशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दुई खेलको मैत्रीपूर्ण जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । दुवै मैत्रीपूर्ण खेल ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपाल र मरिसस बिचको खेलमा दर्शकलाई प्रवेश दिइने छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने जनाएको छ । एन्फाले सामान्यतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर राखेको छ । मरिससको टोली सोमबार नै नेपाल आइसकेको छ ।

सम्बन्धित