तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा थप दुई सब स्टेसन सञ्चालन भएसँगै कम भोल्टेजको समस्याबाट मुक्त

बर्दिया । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुलरियाले विद्युतीय समस्या समाधान गर्न प्राधिकरण लागि परेको जनाएको छ । चुहावट नियन्त्रण तथा कम भोल्टेज समस्याको सुधार गर्नका लागि  थप ३३/११ केभी १६ एम भि ए को मैनापोखर सब–स्टेशन र १३२/३३/११ केभी ८ एम भि ए भुरिगाउ सब–स्टेशन र गुलरीया सब–स्टेशन बाट २४ एम भि ए मार्फत सेवा दिँदै आएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुलरियाले जनाएको छ । 

३ वटा फीडर बाँसगढी, जमुनी र मैनापोखरमा निर्माण गरी सञ्चालनमा ल्याएको वितरण केन्द्र गुलरियाका प्रमुख दिपक जङ्ग चौधरीले बताउनुभएको छ । प्रमुख चौधरीका अनुसार बर्दियाको भुरिगाँउमा १३२/३३/११ केभी ८ एम भि ए भुरिगाउ सब–स्टेशन ठाकुरबाबा र भुरिगाँउ फिडर निर्माण गरी सञ्चालनमा ल्याइ बर्दियाली जनतालाई विद्युतको कम भोल्टेज र अन्य समस्याबाट मुक्त गराइएको बताउनु भएको छ ।

बर्दियामा १ सय १३ जना दरबन्दी रहेको प्राधिकरणमा जम्मा ९४ जना कर्मचारी रहेका छन् । स्थायी ३३ जना, ज्यालादारी ३५ जना, ठेक्का करार १९ जना र गोटागन्तीमा ७ जना कर्मचारी मार्फत सेवा दिँदै आएको चौधरीले बताउनु भएको  छ ।

क्षेत्रिय तथा केन्द्रिय कार्यालयबाट माग भई आएका निर्देशन र विवरण समयमै तयार गरी पठाउने गरेको र मर्मत सम्भार तथा सेवाग्राहीका समस्यालाई सकेसम्म निर्धारित समयमै समाधान गर्ने गरेको प्रमुख चौधरीले बताउनुभएको छ । बर्दिया जिल्लामा गत आर्थिक बर्ष ०७७/७८ मा करिब २३ प्रतिशत विद्युत् चुहावट हुने गरेको थियो भने आर्थिक ०७८/७९ को पुस मसान्त सम्म करिब १६ प्रतिशतमा झरेको बताइएको छ । 

चालु आर्थिक वर्ष ०७८/७९ को पुस मसान्तमा बर्दिया जिल्लमा मासिक खपत युनिटबाट  औसतमा २१ करोड २७ लाख १५ हजार रकम सङ्कलन गरेको विद्युत् प्राधिकरणको तथ्याङ्कमा रहेको छ  ।  पुस मसान्त सम्म करिब ८९ प्रतिशत सङ्कलन भइसकेको  छ । आर्थिक वर्ष ०७७/७८  मा जम्मा  वार्षिक खपत युनिट बाट ३८ करोड ९९ लाख ४२ हजार बराबरको रकम सङ्कलन गरिएको थियो जुन ९५ प्रतिशत रकम सङ्कलन भएको तथ्याङ्कले देखाएको छ ।

समय समयमा विद्युतीय चुहावट रोक्नका लागी गरिएको अनुगमनमा विद्युत् चोरी गरेकाहरूबाट पुस मसान्त सम्म  २ लाख १४ हजार १ सय ७५ रुपैयाँ असुल गरिएको  र गत आव मा १० लाख ६० हजार ८ सय ६४ रुपैयाँ असुल गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुलरियाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button