तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य निर्वाचन: बागमतीमा मतदान सुरु

मकवानपुर । राष्ट्रियसभा सदस्यका लागि आज भइरहेको निर्वाचन अन्तर्गत बागमती प्रदेशमा निर्वाचन प्रक्रिया सुरु भएको छ । हेटौंडा–८, स्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान सुरु भएको हो । पानी परेका कारण मतदान निर्धारित समय भन्दा ४० मिनेट ढिलो सुरु भएका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार मतदान प्रक्रिया दिउँसो ३ बजे टुङ्गिने र ४ बजेपछि मतगणना सुरु हुने छ । निर्वाचनमा बागमती प्रदेशसभाका १०९ जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका ११९ वटा स्थानीय तहका २ सय ३७ प्रमुख/उपप्रमुख गरी कुल ३ सय ४६ जनाले मतदान गर्नु हुने छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार १०९ जना प्रदेश सभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख/उपप्रमुखको ४ हजार २६६ रहेको छ । जसअनुसार बागमतीमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेश महिला र अन्य गरी २ पदका लागि ६ जनाको उम्मेदवारी रहेको छ । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुई जना गरी ६ जनाले मनोनयन दर्ता गराउनु भएको छ । गठबन्धन दलकातर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा काङ्ग्रेसबाट कृष्णप्रसाद पौडेल चुनावी मैदानमा हुनुहुन्छ । विपक्षी दल नेकपा एमालेबाट भने महिलामा निरुकुमारी कुँवर र अन्यमा गोपाल शाक्य तथा नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार हुनु हुन्छ ।

मतदानको फोटो खिचेपछि लफडा !
यसैबिच राष्ट्रिय सभाको सदस्यका लागि बागमती प्रदेशमा जारी मतदानमा एक प्रदेश सभा सदस्यले मतदान गरेको फोटो खिँच्दा लफडा भएको छ । नेकपा माओवादी केन्द्रकी सांसद हिमाली गोलेले आफूले मतदान गरेको फोटो खिचेपछिविवाद भएको हो ।
प्रदेश सांसद गोलेले फोटो खिचेपछि गोप्य मतदानको फोटो नखिच्न निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आग्रह गर्नुभएको थियो । सांसदहरुले नै बनाएको कानुन भएकोले उल्लङ्घन नगर्न श्रेष्ठले कानुनबारे सम्झाउँदा केही बेर लफडा भएको थियो । केहीबेरको विवादपछि अहिले मतदान जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button