तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य : राजदूत क्वात्रा

काठमाडौँ ।नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताउनुभएको छ ।

राजदूत क्वात्राले भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा नेपालको प्रगति, समृद्धि र विकासका साथै द्विपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार प्रदान गरेको बताउनुभएको हो । “सन् २०२१ मा भएका केही उच्चस्तरीय राजनीतिक भेटघाटले भारत–नेपाल साझेदारीलाई महत्त्वपूर्ण गति प्रदान गरेको छ”, उहाँले भन्नुभएको छ ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच ग्लास्गोमा सम्पन्न कोप–२६ सम्मेलनका क्रममा भएको साइडलाइन वार्ता, भारतीय विदेशमन्त्री डा एस जयशङ्कर र नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काबीच न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको महासभामा भएको साइडलाइन बैठकले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको प्रसङ्ग पनि सो सन्देशमा उल्लेख गर्नुभएको छ ।

राजदूत क्वात्राले जयनगर–कुर्था–विजुलापुर र जोगबनी–विराटनगरलाई जोड्ने अन्तरदेशीय रेलमार्ग, भूकम्पले भत्काएका नुवाकोट र गोरखामा भारत सरकारको पुनःनिर्माणमा सहयोग एवं नेपालको अनुरोधमा युरिया र डिएपी मल आपूर्तिलाई प्राथमिकता दिएको प्रसङ्ग पनि राजदूत क्वात्राले सो सन्देशमा उल्लेख गर्नुभएको छ ।

कोभिड–१९ को सङ्क्रमणका क्रममा खोप, आइसीयू शय्या, मेडिकल अक्सिजन प्लान्टलगायतको सहयोग भारतले उपलब्ध गराएको बताउँदै राजदूत क्वात्राले कोभिडसम्बन्धी कडा प्रतिबन्धका बाबजुद पनि दुवै देशको व्यापार निर्बाध ढङ्गले अगाडि बढेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button