तपाईँ सुन्दै हुनुहुन्छः

सात दिनदेखि युवा बेपत्ता

मङ्गलबारे। इलामका एक युवा सात दिनदेखि बेपत्ता हुनुहुन्छ । इलाम माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि सम्पर्कविहीन हुनुभएको हो ।

विदेश जाने तयारीमा रहनुभएका उहाँ भारतबाट सम्पर्कविहीन हुनुभएको परिवारले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारीमा रहनुभएका बस्नेत एक महिना पहिला काठमाडौँ जानुभएको थियो । क्रोएसियाका लागि भारतको पहाडगञ्ज भन्ने ठाउँमा यातायात छाप लगाउन भन्दै बस्नेतसहित केही युवा एजेन्टमार्फत भारत जानुभएको थियो । विदेश लैजाने एजेन्ट एकराज शेर्माका सहयोगी कल्याण राईसँगै यही माघ ५ गते भारत जानु भएका उहाँ भारतबाट नै सम्पर्कविहीन हुनुभएको बताइएको छ ।

भारतको गुलाफ होटेलमा बस्नुभएको सम्म जानकारी भए पनि त्यहीँबाट सम्पर्कविहीन हुनुभएको उहाँका भाइ पुकार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बास बस्नका लागि होटेल बुक गरेर बस्नेतलाई होटेलमै छाडेर सँगै गएका पोखराका आशिष रानाभाटसहितको टिम फर्किएर आउँदा बस्नेत होटेलमा नरहेको बताइएको छ । त्यहीँबाट बस्नेत सम्पर्कविहीन हुनुभएको आशिषले बताउनुभयो । उहाँसँग रानाभाटसहित मोरङका मनप्रसाद योङहाङ, मनबहादुर योङहाङ र कल्याण राईसमेत रहनुभएको थियो ।

परिवारका सदस्य बेपत्ता भएपछि बस्नेत परिवारमा चिन्ता छाएको छ । बस्नेत परिवारले घटनाका बारेमा थप बुझीदिन र सम्पर्कविहीन व्यक्तिको खोजी गरिदिन सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ । बस्नेत होटेलबाट एक्लै घुम्न जाँदा पुनः होटेल नचिनेर सम्पर्कविहीन भएको वा अन्य केही भएको भन्नेबारे अन्योल छ । बस्नेत परिवारले म्यानपावरसँग समेत खोजी गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button