तपाईँ सुन्दै हुनुहुन्छः

अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान

वीरगञ्ज। पर्सामा १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पाँच जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान थालेको छ ।

गत पुस २३ गते पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीका नागेन्द्रप्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुको हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँका पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सोही ठाउँका ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधनप्रसाद यादव, ३० वर्षीय मनोमोहनप्रसाद यादव र २५ वर्षीय रोहणप्रसाद यादव छन् । पक्राउ परेकामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दातर्फ अनुसन्धान थालिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

मन्टुको परिवारबाट उनीहरुविरुद्ध दिएको किटानी जाहेरीका आधारमा प्रहरीले थालेको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका–६ भीष्वास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो । अभियुक्तले पारिवारिक रिसइबीका कारण मन्टुको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

अभियुक्त र पीडित परिवारबीच चलिरहेको फौजदारी मुद्दामा बयान परिवर्तन गर्न दबाब दिने उद्देश्यले बालकलाई अपहरण गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको खनालले बताउनुभयो । स्थानीयवासीका अनुसार दुवै परिवारबीच विचाराधीन अवस्थामा रहेको फौजदारी मुद्दामा मन्टुको परिवारमाथि दबाब बढाउन उनीहरूले मन्टुलाई अपहरण गरेका थिए । पछि पहिचान खुल्ने डरले मन्टुको हत्या गरेर खेतमा शव फालेका थिए । अभियुक्तमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दा अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरिएको छ । मन्टुको शव पुस २३ गते गाउँकै उखुबारीमा फेला परेको थियो ।

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

पर्साबाट प्रहरीले १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२३ सबैठवाका २० वर्षीय मुन्नाप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई डर, त्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगी पटक–पटक जबर्जस्ती करणी गर्दै आएको यादवमाथि आरोप छ । यादवलाई घरबाटै नियन्त्रणमा लिई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालर्यले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button