तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानलाई मानवीय सहयोग गरेकामा प्रधानमन्त्रीद्वारा निजी क्षेत्रलाई धन्यवाद

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कट र कठ्याङ्ग्रिँदो चिसो बढेका बेला मानवीय सहयोग गर्नु सबैको दायित्व भएको भन्दै अफगान नागरिकलाई सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद दिनुभएको छ ।

अफगान नागरिकहरूलाई यही माघ २ गते नेपालका तर्फबाट मानवीय सहयोग सामग्री हस्तान्तरण गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँग आज भएको भेटमा प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो ।

File Photo

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई स्वदेशमै मल कारखाना जस्ता सरकारका प्राथमिकताका क्षेत्रमा लगानी गर्न आग्रह गर्दै त्यसमा सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले सरकारले सदैव निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको धारणा व्यक्त गर्दै निजी क्षेत्रका लगानीमा सरकारका तर्फबाट सक्दो सहयोग र समन्वय हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मुलुक अहिले पुनः कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर यसबाट जोगिनुपर्ने बताउनुभयो । उहाँले कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकतामा रहेको बताउँदै सबैलाई खोप लगाएर कोरोनाबाट सुरक्षित रहन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा परराष्ट्र मन्त्री डा नारायण खड्काले नेपालले पहिलो पटक विमान चार्टर गरेर मित्रराष्ट्रलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसले नेपालले सदैव सहयोग लिने मात्र नभई आवश्यक परेका बेला अन्य राष्ट्रलाई सहयोग गर्न पनि सक्छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो ।

कार्यक्रममा नेपालस्थित अवैतनिक महावाणिज्य दूतहरूको सङ्घका प्रमुख लोकमान्य गोल्छा, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आफूहरूले मुलुकमा आइपर्ने विपद् र अन्य सामाजिक उत्तरदायित्वका कार्यमा सहयोग गर्दै आएको उल्लेख गर्दै निजी क्षेत्रका व्यवसायमा सरकारले आवश्यक समन्वय गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सरकारले यही माघ २ गते अफगानिस्तानका जनताका लागि नेपाली जनताका तर्फबाट हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत मानवीय राहत सामग्री हस्तान्तरण गरेको थियो ।

नेपालका तर्फबाट उक्त सामग्री नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, नेपालस्थित अवैतनिक महावाणिज्य दूतहरू, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्स लगायत निजी क्षेत्रका सङ्घसंस्था लगायतले सहयोग गरेका थिए । हिमालय एयरलाइन्सले उक्त सामग्री पुर्‍याउन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क कार्गो उडान भरेको थियो ।

सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र अवैतनिक महावाणिज्य दूत गरी १५ सदस्यीय टोली अफगानिस्तान गएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button