तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पाण्डेद्वारा राष्ट्रियसभा निर्वाचन स्थलको निरीक्षण

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बुधवार (भोलि) हुने राष्ट्रियसभा सदस्य निर्वाचन स्थलको निरीक्षण गर्नुभएको छ ।

मङ्गलवार मतदान केन्द्रको मुख्यमन्त्री पाण्डे, मन्त्रीहरू, विपक्षी दलका मुख्य सचेतक दीपक निरौला, प्रदेशसभा सदस्यहरु, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहितको टोलीले निरीक्षण गरेको हो ।

त्यस क्रममा मुख्यमन्त्री पाण्डेसहितको टोलीले आवश्यक जानकारी समेत लिएको थियो । राष्ट्रियसभा सदस्यअन्तर्गत बागमती प्रदेशतर्फ खाली रहेको दुई सिटका लागि बुधवार (भोलि) हेटौँडा–८, स्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश निर्वाचन अधिकारी तथा सहायक निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले जानकारी गराउनुभयो । उहाँले मतदान स्थल, केन्द्र तथा सवारी पार्किङ स्थल, हेल्प डेस्क र स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिएको जानकारी दिनुभयो ।

पोखरेलका अनुसार बिहान ९ बजेबाट सुरु हुने निर्वाचनका लागि दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ । दिउँसो ३ बजे मतदान प्रक्रिया टुङ्गिने र ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले छुट्टाछुट्टै मतदान गर्ने गरी दुई वटा मतदान केन्द्र निर्माण गरिएको पोखरेलले बताउनुभयो ।

मतदान केन्द्रमा अधिकृतसहित ८–८ जना गरी १६ जना कर्मचारी खटाइने साथै, मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक/फरक रहेको जानकारी दिनुभयो । कोभिड–१९ महामारीको कारणले गर्दा स्वास्थ्य सुरक्षामा केही चुनौती देखिए पनि यसको व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाएको पोखरेलले बताउनुभयो ।

मतदाताहरूले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने, कोरोना संक्रमित भए वा लक्षण देखिएका मतदातालाई छुट्टै मतदान गर्ने गरी व्यवस्थापन गरिएको छ । मतदान स्थलमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले हेल्पडेस्कसहित २ जना स्वास्थ्यकर्मी राख्ने भएको छ ।

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिनुभएको छ । सत्तारुढ गठबन्धनका दुई जना, प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुई जना गरी ६ जनाले मनोनयन दर्ता गराउनुभएको छ ।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा काँग्रेसबाट कृष्णप्रसाद पौडेल हुनुहुन्छ भने विपक्षी नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर र अन्यमा गोपाल शाक्य तथा नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा हुनु हुन्छ ।

राष्ट्रियसभा निर्वाचनमा बागमतीमा प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३७ जना र १०९ जना प्रदेशसभा सदस्य गरी ३६४ जनाले मतदान गर्नुहुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button