तपाईँ सुन्दै हुनुहुन्छः

वडाध्यक्ष र सचिवलाई दुर्व्यवहार गर्ने चार जनाविरुद्ध मुद्दा दर्ता

बझाङ । वडाध्यक्ष र सचिवलाई दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा ४ जनाको नाममा मुद्दा दर्ता भएको छ । 

आइतबार बझाङको वित्थडचिर गाउँपालिका ८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई कालोमोसो लगाएर दुर्व्यवहार गरेको भन्दै आज मङ्गलवार जिल्ला प्रहरी कार्यालयमा उनीहरू विरुद अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको हो । 

दुर्व्यवहार गर्नेहरूले प्रयोग गरेको जिपका चालक जयपृथ्वी नगरपालिका ७ सुवेडा घर भएका २३ वर्षीया  विनोद बमलाई पक्राउ गरी आफन्तको जिम्मामा छोडेको छ । त्यस्तै दुर्व्यवहारमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका जयपृथ्वी नगरपालिका ९ देवलका अशोक धामी, दुर्गाथली गाउँपालिकाका कमल थापा, ठेगाना नखुलेका तिलक कुँवर र थलारा गाउँपालिकाकी जानकी खड्काको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दर्ता गरेको छ । 

आफु धरान बजारमा स्थानीयहरू सँग कुरा गरिरहेको अवस्थामा वडा सचिव र अध्यक्ष को हो भनेर सोधेपछि हामी हौ भन्दा काम छ यता आउनुहोस् भनेर लिएको र पछि कालोमोसो दलेको वडा अध्यक्ष मल्लले बताउनुभयो । 

वडाध्यक्ष मल्लले पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, ‘हामीले कतै रकम हिनामिना गरेको प्रमाण उहाँहरूले ल्याउनुभयो भने हामी कारबाही भोग्न तयार छौ । नत्र हामीलाई विना कारण आरोप लगाएर दुर्व्यवहार गर्नेलाई हदै सम्मको कारबाही होस । गाउँले भएर हाम्रो ज्यान जोगियो । हाम्रो जिउ धनकै सुरक्षा छैन ।’ आफूहरूलाई अब वडा कार्यालयमा गएर सेवा दिन पनि डर लागेको र असुरक्षित महसुस भएको समेत वडाध्यक्ष मल्ले बताउनुभयो । 

वडा सचिव अवस्थीले भन्नुभयो, ‘पुस २४ गते आफ्नो पार्टीलाई १ लाख ५० हजार रुपैयाँ चन्दा दिनुपर्‍यो भनेर फोन गरेका थिए । पुस २५ गते कार्यालयमा आएर वडाको सबै हिसाब किताब देखाऊ भनेर भिडियो बनाउँदै हामीलाई थर्काएका थिए । हामीले सबै कागजात अहिले देखाउन सकिदैन् । कुन कुन कागजात हेर्नु हुन्छ । निवेदन ल्याएर आउनुहोस् अनि देखाउला भनेका थियौ । त्यसपछि कार्यालयमा कोही आएका थिएनन् ।’

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले अनुसन्धानमा खलल पुग्ने भएकाले दिन नमिल्ने र उनीहरू विरुद अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको र उनीहरूको खोजिकार्य भइरहेको बताउनुभयो । साथै विज्ञप्ति जारी गर्दै वित्थडचिर गाउँपालिका, नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति बझाङ, नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङले राजनीतिक आस्थाको भरमा दुर्व्यवहार गरेकाले दुर्व्यवहारमा संलग्न सबैको कारबाहीको माग गरेको छ । 

आजै वडाध्यक्ष मल्ल र सचिवले सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी दुर्व्यवहार गर्नेलाई यथाशीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउनका लागि पहल गरिदिन तथा घटना बारे सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्न अनुरोध समेत गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button