तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा चटारो

खलङ्गा । जुम्लाका किसान यस याममा स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन् । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ ।  

तातोपानी गाउँपालिका – ४ का  किसान सत्यदेवी पाण्डेले स्याउ बोटको काँटछाँट तथा यसको व्यवस्थापनमा आफूहरू जुटेको जानकारी दिनुभयो । बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले व्यवस्थापन अनिवार्य गरिएको तिला गाउँपालिका – १ का कार्यवाहक वडाध्यक्ष नर रावतले बताउनुभयो ।  बगैँचा व्यवस्थापन कार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ बिरुवा लगाउने समय समेत सुरु भएको छ । 

जिल्लाका आठ वटै स्थानीय तहका स्याउ किसान यतिखेर खेतबारीको स्याउ बगैँचामा स्याउ कटिङमा लागि परेको स्थानीय तहका कृषि शाखाले जनाएका छन् ।  पछिल्लो सयमयमा कर्णाली प्रदेश सरकारले स्याउ किसानलाई विशेष अनुदानसमेत दिने गरेको छ । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोखरेलले बताउनुभयो ।  स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्राविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैँचामै पुगेर स्याउ बगैँचा काटँछाटदेखि स्याउ व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।  

बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् । खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरुवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले बताउनुभयो । खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने उहाँले जानकारी दिनुभयो ।  

कृषि प्राविधिकको सल्लाह अनुसार स्याउका बिरुवा रोप्दा र समयमै बगैँचा व्यवस्थापनमा गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने तिला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक सरिता महतले बताउनुभयो । सो शाखाले फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका बिरुवा रोपिसक्नुपर्ने जनाएको छ । स्याउका बिरुवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुनेदेखि स्याउ खेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने कार्यालयका प्राविधिक सहायक सुकिराम नेपाली बताउनुभयो ।

छ हजार मेट्रिक टन स्याउ उत्पादन

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार यस वर्ष जिलामा छ हजार १७० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ । स्याउ उत्पादनको तथ्याङ्क गत वर्षभन्दा यो वर्ष १९ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा ६ हजार १७० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ६ हजार २१० मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ । 

जिल्लाको कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर छ । यसको चार हेक्टर जमिनमा गरिएको स्याउ खेतीमध्ये एक हजार ८८८ हेक्टरमा मात्रै स्याउ फलेको थियो । गत आव। २०७७/७८ मा तीन हजार ८८५ हेक्टर जमिनमा गरिएको स्याउ खेतीमध्ये एक हजार ५५४ हेक्टर जमिनमा स्याउ उत्पादन भएको  कार्यालयले तथ्याङ्कले देखाएको छ । यस वर्ष जिल्लाबाट एक हजार ९०० क्विन्टल निर्यात भएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button