तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा ३ हजार बढी घर पुनर्निर्माण

पाल्पा।जिल्लामा भूकम्पबाट घर भत्केका तीन हजार बढी घर पूर्ननिमार्ण सम्पन्न भएको छ । २०७२ वैशाखमा गएको भूकम्पबाट क्षति पुगेका पाँच हजार बढी घरमध्ये चार हजार चार सय ४२ परिवारको मात्र घर निर्माण गर्न सम्झौता भएको थियो ।

भूकम्पबाट क्षतिग्रस्त घर बनाउन आवेदन दिएकामध्ये हालसम्म तीन हजार दुई सय ७२ परिवारले मात्रै घर बनाएर सरकारबाट तीन लाख रकम बुझेका छन् । घर पुनर्निर्माण सकेका तीन हजार बढी लाभग्राहीले तीन लाख रुपियाँ राहत पाएको शहरी विकास मन्त्रालय अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ, भवन तथा आवास, पाल्पाले जनाएको छ ।

घर निर्माण सकिएर रकम बुझ्नेमा बगनासकालीका तीन सय ७५, माथागढीका तीन सय ८२, निस्दीका छ सय ३४ लाभग्राही छन् । यस्तै पूर्वखोलाका दुई सय ३०, रैनादेवी छहराका दुई सय २२, रम्भाका दुई सय ५४, रामपुरका दुई सय दुई लाभग्राहीले घर सम्पन्न गरेर तेस्रो किस्ता पाएको कार्यालय प्रमुख टिका थापाले जानकारी दिनुभयो । जिल्लाको रिब्दीकोटका तीन सय ७४, तानसेनका तीन सय ३२ र तिनाउ गाउँपालिकाका दुई सय ६७ परिवारले तीन लाख रकम बुझेका छन् ।

कार्यालयका अनुसार भूकम्पबाट क्षति पुगेका तीन हजार चार सय १७ लाभग्राहीले दोस्रो किस्ता बुझेका छन् । पहिलो किस्ता बुझेर पनि रकम नबनाउने लाभग्राहीको सङ्ख्या एक हजार बढी रहेको कार्यालयले जनाएको छ । सरकारले भूकम्पबाट क्षतिग्रस्त भएको निजी आवास बनाउनका लागि प्रति परिवार तीन लाख रुपियाँ अनुदान दिएको छ ।

भूकम्पबाट क्षति पुगेका लाभग्राहीले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख रुपियाँ पाउने व्यवस्था छ । घर बनाउन सम्झौता भएर पहिलो किस्ता रकम बुझेका तर घर नबनाउने लाभग्राहीले रकम फिर्ता गर्नुपर्ने प्रावधान रहेको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । अब एक सय ४५ लाभग्राही मात्रै तेस्रो किस्ता रकम बुझ्न बाँकी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button