तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी सक्षम’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल नेपाल सक्षम रहेको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरीले नेपाल सरकारबाट निर्दिष्ट भूमिकालाई कुशलतापूर्वक निभाएकामा प्रशंसा पनि गर्नुभयो ।

उहाँले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले खेलेको भूमिका पनि महत्त्वपूर्ण रहेको बताउनुभयो । क्षमता सीप विकास, सङ्गठन सुदृढीकरण र वृत्ति विकासमा नेपाल सरकार सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आवश्यकताको पहिचान गरी अघि बढ्न पनि सशस्त्र प्रहरीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले आम नागरिकप्रतिको विश्वास बढाउँदै सुशासन कायम गराउनका लागि सुरक्षित वातावरण निर्माण गर्न र भ्रष्टाचारको शून्य सहनशीलतालाई अक्षरशः पालना गर्दै जनताको शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकार रक्षा गर्न सक्ने गरी प्रभावकारी सुरक्षाको वातावरण मिलाउन निर्देशन पनि दिनुभयो ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसा योग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा समेत आम नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र नागरिकको सेवा सुरक्षा, उद्धार, राहत वितरण लगायत क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

उहाँले कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा रहेर एपिएफ अस्पतालमार्फत सङ्क्रमितहरूको उपचारमा पुर्‍याएको योगदानले धेरैले पुनर्जन्म पाएको स्मरण पनि गर्नुभयो ।

गृहमन्त्री खाँणले सशस्त्र प्रहरी बल, नेपालले हर्षोल्लासका साथ मनाइरहेको २१औँ सशस्त्र प्रहरी दिवस विशेष अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई अझ कटिबद्ध र क्रियाशील रहँदै जिम्मेवारी निर्वाहमा जुट्न निर्देशन पनि दिनुभयो ।

त्यस क्रममा उहाँले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बस्नेतलाई योगदानको सम्मान गर्दै उहाँकी श्रीमती लक्ष्मी र छोरा जनकराजलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवा तथा विभागीय गृहमन्त्रीले दिएको निर्देशन अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रका जिम्मेवार सुरक्षा निकायका रुपमा स्थापित सशस्त्र प्रहरीको गरिमा उँचो बनाउने सन्दर्भमा सदैव लगनशील रहेको स्पष्ट पार्नुभयो ।

उहाँले सीमा सुरक्षा राजस्व सङ्कलनमा सहयोग, विपद् उद्धार तथा व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण संरचना तथा रेल्वे सुरक्षामा सशस्त्र प्रहरीले अहम् भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो ।

भविष्यमा आइपर्न सक्ने चुनौतीलाई स्रोत साधनको अधिकतम परिचालन गरी पेशागत भूमिका निर्वाह गरिरहेको जानकारी खनालले दिनुभयो ।

समारोहमा उत्कृष्ट वाहिनी र सशस्त्र प्रहरीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button