तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा मतदाता सङ्ख्या चार लाख माथि

चितवन। जिल्लामा मतदाताको सङ्ख्या चार लाख चार हजार २०० पुगेको छ । गत प्रतिनिधिसभाको निर्वाचन २०७४ मा जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता थिए । अहिले यो सङ्ख्या ५० हजार १६४ ले बढेको हो ।

१६ वर्ष उमेर पुगेपछि नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था छ । मताधिकार प्रयोग गर्न १८ वर्ष पुग्नुपर्ने हुन्छ । यही कात्तिक मसान्तसम्म जिल्लामा तीन लाख ७८ हजार ७२१ मतदाता थिए । गत मङ्सिर १७ देखि पुस १९ मा सकिएको मतदाता दर्ता विशेष कार्यक्रममा छ स्थानीय तहबाट १२ हजार ५२० ले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै जिल्ला निर्वाचन कार्यालय चितवन, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा मङ्सिरयता यही माघ ५ गतेसम्म १३ हजार ६४ ले मतदाता नामावली दर्ता गराएका छन् ।

भरतपुर महानगरका स्थानीयवासीले जिल्ला निर्वाचन कार्यालयमै नाम दर्ता गराएका हुन । निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जिल्लामा गत मङ्सिरयता २५ हजार बढीले नाम दर्ता गराएको जानकारी दिनुभयो । मतदाता नामावलीमा दर्ता गराउने छ हजार हाराहारी १८ वर्ष नपुगेका रहेको उहाँले बताउनुभयो । सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगरेसम्म नामावली दर्ता गराउने क्रम जारी रहेन कार्यालयले जनाएको छ । गत मङ्सिर र पुसमा १५ दिनसम्म विशेष अभियान चलाउँदा दर्ता गर्न छुटेकाले जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासनबाट नाम दर्ता गर्ने व्यवस्था मिलाइएको थियो ।

बाहिरी जिल्लाबाट यस जिल्लामा मतदाता नामावली स्थानान्तरण गर्ने पनि बढेका छन् । करिब एक हजार २०० ले यसै जिल्लाबाट मतदान गर्न पाउने गरी निवेदन दर्ता गराएको उहाँले बताउनुभयो । बसाइसराइ दर्ता नगराउँदा साबिककै ठाउँमै पुगेर मतदान गर्दै आएकाले यसपालि मतदाता नामावली सार्न लागेका हुन् । जिल्लाबाट अन्यत्र बसाइसरी गएका २०० ले मात्रै मतदाता नामावली स्थानान्तरण गर्न निवेदन दिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा अस्थायी बसोबास भएका (ओडिआर) एक हजार ३२८ ले नामावली दर्ता गराएका छन् । उनीहरू मतदान गर्न आफ्नै गृह जिल्ला जानुपर्ने कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button