२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

साइपालको न्युनामा खाद्यान्न अभाव

सत्यराज सिंह २०७८ माघ ५ गते १९:०२

बझाङ । बझाङको साइपाल गाउँपालिकामा खाद्यान्न अभाव हुँदा भोकमरी भएको छ ।

बझाङ जिल्लाको हिमाली क्षेत्रमा रहेको स्थानीय तह साईपालको वडा नम्बर ५ न्युनाका बासिन्दाहरू खाद्यान्न ढुवानी नहुँदा भोकमरी चपेटामा परेका छन् ।

ध्वज बोहरा, डबल बोहरा, मनवीर बोहरा लगायतका स्थानीयहरूले २ महिना अगाडि चामलका लागि ४ लाख ६० हजार रुपैयाँ बुझाएको भए पनि आफूले चामल नपाएको र घरमा भएको जौ, चामल लगायतका अन्नहरू सकिएपछि खान समस्या भएको स्थानीय उमेश बोहराले बताउनुभयो ।

चामल ढुवानीका लागि जिम्मा लिएका राजन कुवर र जय पृथ्वी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दलबहादुर विष्ट भने अहिलेसम्म पनि सम्पर्कमा नआएको समेत बोहराले बताउनुभयो ।

उब्जनी नहुने त्यो क्षेत्रका बासिन्दाहरू हरेक बर्ष भोकमरीको समस्या भोग्दै आएका र अर्कोतर्फ व्यापारीहरूले अनुदानको चामल सस्तोमा किन्ने भएकोले पछि उपभोक्ताहरू त्यही चामल महँगोमा किन्ने गरेको र सर्वसाधारण मर्कामा पर्ने गरेको स्थानीय ध्वज बोहराले बताउनुभयो । न्युना ३५ घरधुरी भोकमरीको चपेटामा परेका हुन् ।

हाल अनुदानको चामल २ महिनादेखि पैसा तिरेर पनि ढुवानी नभएपछि अहिले खानलाई निकै समस्या भएकाले सम्बन्धित निकायले खाद्यान्न आपूर्तिका लागि पहल गरिदिन समेत स्थानीयहरूले आग्रह गरेका छन् ।

सम्बन्धित