तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो थाहा गोल्ड कपको उपाधि अंगारा फुटबल क्लबलाई

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाद्धारा आयोजित तेस्रो थाहा गोल्ड कपको उपाधि अंगारा फुटबल क्लबले जितेको छ ।

मकवानपुरको उत्तरी क्षेत्र स्थित थाहा नगरपालिका स्थित इन्द्रायणी खेल मैदानमा बुधवार भएको फाइनलमा बारा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै अंगाराले उपाधि कब्जा गरेको हो ।

अंगाराका लागि खेलको अन्तिम समयमा सुशान्त कार्कीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उपाधिसँगै अंगारा फुटबल क्लबले एक लाख रुपैयाँ र उप विजेता बारा–११ ले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

२६ वटा टोलीको सहभागिता रहेको प्रतियोगिताको उत्कृष्ट खेलाडी अंगाराका जङ्गे धामी घोषित भए भने उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डर पनि क्रमशः अंगाराका किसन गुरुङ र विश्वास थापा घोषित भएका थिए ।

यस्तै उत्कृष्ट मिडफिल्डर बारा–११ का ओम चौधरी, सबैभन्दा बढी गोलकर्ता डाँडाबास एफसीका विशाल स्याङ्ताने घोषित भएका थिए । उत्कृष्ट खेलाडीहरूले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

थाहा नगर खेलकुद विकास समितिका संयोजक राजेश केसीको अध्यक्षता तथा बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण भएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्टको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button