तपाईँ सुन्दै हुनुहुन्छः

कोभिडले रिडी मेला नलाग्दा कम्बल व्यवसायी मर्कामा

पाल्पा।माघेसक्रान्तिमा पाल्पा,गुल्मी र स्याङ्जाको सङ्गम स्थल रुरुक्षेत्र रिडीमा एक सातासम्म लाग्ने माघेसक्रान्ति मेला यस बर्ष कोभिड सङ्क्रमणका कारण लागेन । रिडीमा व्यापार आएका व्यवसायीहरू मेला नलाग्दा निराश भएर घर फर्किन बाध्य भएका छन् ।

वर्ष भरी गाउँको भेडाको उन काटेर निकालिएको रौँबाट काम्लो बुनेर साता दिन सम्म सञ्चालित रिडीको मेलामा बिक्री गर्ने सपना बुनेका रुकुमका इन्द्र बहादुरको यस पटक मेलामा काम्लो बिक्री गर्ने चाहाना पुरा भएन ।रुकुमको तकेसराबाट उहाँसँगै आउनुभएका सुन्दर प्रसाद शाहीको पनि काम्लो बिक्री गर्ने इच्छा सपनामा पूरा नभएको बताउनुभयो । कोभिड सङ्क्रमणको कारण उहाँ जस्ता आधा दर्जन भन्दा बढी उद्यमीहरूको व्यापार चौपट भएको हो ।

वर्ष भरी गाउँका भेडाको रौँ काट्ने त्यही रौँबाट काम्लो गलैँचा बनाउने हो । त्यो पनि यो मेलालाई लक्षित गरेर हो । गत वर्ष पनि कोभिडका कारण चौपट भयो यस पटक पनि त्यस्तै भयो । झन्डै तीन लाख रुपैयाँको व्यापार गर्ने लक्ष्य राखेको दुर्गा प्रसाद पुन बताउनुहुन्छ ।
“कोभिडका कारण व्यवसाय खतम भयो । यहाँ व्यापार गरेर आर्जित गरेको रकमले वर्ष भरि खाने हो । रिडीको मेलामा व्यापार आफ्नो तीन पुस्ता देखि नै भएको थियो तर कोभिड भन्ने रोगले गरी खान नदिए पछि काम्लोको व्यापार शून्य नै भएको छ ।” पुनले भन्नुभयो ।


३ हजार देखी ७ हजार रुपैयाँ सम्मको काम्लो बुन्नुभएकी दुर्गा देवी पुन भन्नुहुन्छ । मेलामा अहिले सम्म ती कम्बल बिक्री नहुँदा मन भरि खिन्नता बोकेर फर्कन परेको छ ।रिडी जस्तै समयानुसार मेला तथा महोत्सवहरूमा नेपालगन्ज,धनगढी, दाङमा जस्ता ठाउँमा पुगेर बिक्री गर्ने गरेको तर गत वर्ष पनि कोभिडका कारण व्यापार ठप्प भएको पुनले बताउनुभयो ।“यस वर्ष केही होलाकी जस्तो थियो तर उल्टै खर्च भयो व्यापार भएन ।”उहाँले दुखेसो पोख्नुभयो ।

तकेसरा गाउँमा ५० जनाभन्दा बढी उद्यमी तथा व्यवसायीहरू छन् ।व्यवसायीहरूले बुन्ने काम्लो,कम्बल,गलैँचा सबैले यस्ता मेलामा लगेर बिक्री गर्ने गर्दछन् । स्थानीय स्तरमा सबैले घरघरमाआफ्नो प्रयोजनका लागी आफै तयार गर्दछन् । तर व्यापार मेला तथा महोत्सवलाई कोभिडले प्रभावित तुल्यायो जसले गर्दा आफु जस्ता ब्यबसायीहरुलाई आर्थिक सङ्कटले नराम्रो संग छोपेको व्यवसायी तथा उद्यमी करण शाहीले बताउनुभयो ।

रिडीको मेलामा राम्रै व्यापार होला भनेर दुई लाख रुपैयाँ बराबरको सामग्री बिक्रीका लागी ल्याउनुभएका शाही भन्नुहुन्छ । “व्यापार शून्य जस्तै भयो । यहाँ सम्म आउने भाडा होटेलको खर्च फर्किने खर्च समेत व्यापारले धान्न सकेन ।”
स्थानीय कच्चा पदार्थको प्रयोग,स्थानीय प्रविधिको प्रयोग गरिएको स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने व्यवसायी तथा उद्यमीहरू बताउँछन् ।

कोभिड सङ्क्रमणको दर पछिल्लो समय वृद्धि भएकोले मेला महोत्सव सञ्चालनको लागी रोक लगाउनु पर्ने रहर भन्दा पनि बाध्यता भएका स्थानीय जनप्रतिनिधि कमल रानाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button