तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन सर्लाहीका सिडिओसहित १२ जना कर्मचारीमा कोरोना संक्रमण


सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामनरेश राम र राजकुमार थापालाई कोरोना संक्रमण भएको छ । 

अहिले प्रमुख जिल्ला अधिकारी गौतम,प्रशासकीय अधिकृत राम र थापा आइसोलेसनमा बसिरहनु भएको छ । प्रमुख जिल्ला अधिकारी गौतमलाई पुस २६ गते, प्रशासकीय अधिकृत राम र थापासहित कार्यालयका अन्य कर्मचारीलाई पुस २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । प्रमुख जिल्ला अधिकारी र दुवै प्रशासकीय अधिकृत समेत गरी कार्यालयका १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले पुस २९ गतेदेखि अत्यावश्यक काम परेका सेवाग्राहीलाई मात्रै सेवा दिइरहेको छ ।  सिडियोसहित अन्य कर्मचारी कोरोना संक्रमित भएपछि सेवाग्राहीहरूलाई नागरिकता र अन्य सिफारिस लिन समस्या भइरहेको छ ।


अहिले इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख सूर्य प्रसाद दाहालले केही दिनका लागि जिल्ला प्रशासन कार्यालय मलंगवामा समेत पुगेर अतिआवश्यक परेका सेवाग्राहीहरूलाई नागरिकता प्रदान गर्नुका साथै अन्य सिफारिसहरूमा हस्ताक्षर गरिरहनुभएको छ । इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख एवं प्रशासकीय अधिकृत सूर्य प्रसाद दाहालले दिनभर सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेर सेवाग्राहीहरूको काम गरेर हरिवन फर्किने गरेको बताउनुभयो  । हरिवनका सेवाग्राहीहरूको भने दिनभर जम्मा भएको नागरिकता र अन्य सिफारिसमा साँझ अबेर आएर हस्ताक्षर गर्ने गरेको र भोलिपल्ट दिएर पठाउने गरिएको दाहालले बताउनुभयो  । उहाँले अत्यावश्यकमा पनि मलंगवामा आफूले सयको हाराहारीमा नागरिकता र विभिन्न सिफारिसहरूमा हस्ताक्षर गरेर फर्किने गरेको जानकारी दिनुभयो  । इलाका प्रशासन कार्यालय हरिवनबाट पनि दैनिक ५० देखि ६० वटासम्म नयाँ नागरिकता जारी भइरहेको कार्यालय प्रमुख दाहालले बताउनुभयो  ।

दुई जना प्रशासकीय अधिकृत बसेरै नागरिकता जारी गर्दा समेत कतिपय सेवाग्राहीहरू काम नभएर फर्किनुपर्ने अवस्थामा अहिले एक जना अधिकृतले अत्यावश्यक परेकालाई मात्रै नागरिकता प्रवाह गर्दा सेवाग्राहीको काम झनै रोकिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button