तपाईँ सुन्दै हुनुहुन्छः

वडाध्यक्षले टुहुरा बालबालिकाको अभिभावकत्व लिने

देउखुरी । दाङको घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले स्थानीय चार टुहुरा बालबालिकाको अभिभावकत्व लिने भएका छन् । वडाध्यक्ष सार्कीले बुबा–आमा गुमाएका चारै जनाको लालनपालन र शिक्षादिक्षाको जिम्मा आफूले लिने बताउनुभएको छ ।

घोराही–१९ राम्चेका १३ वर्षीय दीपक कामी, ११ वर्षीया शर्मिला कामी, ६ वर्षीय अशोक कामी र ११ महिनाकी सोनिया कामीले बुबा–आमा गुमाएपछि टुहुरा बनेका छन् । उनीहरूका बुबा मोहनलालको २०७७ फागुन १० गते कोइलाखानीमा काम गर्दा पुरिएर मृत्यु भएको थियो । विसं २०७८ मङ्सिरमा आमा शान्तिको पनि लडेर मृत्यु भयो । त्यसपछि चारैजना अभिभावकविहीन बनेका थिए । हाल दीपक कक्षा ४, शर्मिला २ र अशोक कक्षा १ मा अध्ययनरत छन् । बुबा–आमाको मृत्युपछि उनीहरू नियमित विद्यालय जान पाउँदैनन् ।

बालबालिकाको दैनिकी कष्टकर बनेको थाहा पाएपछि घोराही–४ का वडाध्यक्ष सार्कीले आफ्नै लगानीमा लालनपालन र शिक्षादिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभएको हो । मङ्गलवार टुहुरा बालबालिकाको घरमै पुगी उहाँले अन्न र न्यायो कपडा वितरण गर्नुभयो । बालबालिकाका काका भारतबाट फर्किएपछि घरको सल्लाहमा अभिभावकत्व लिने वडाध्यक्ष सार्कीले बताउनुभयो ।

“बालबालिकाको भविष्य अँध्यारो नहोस् भनेर घरमै राखेर पढाउने सोच बनाएको छु”, उहाँले भन्नुभयो । चारै बालबालिकाको हाल सानीआमा चन्द्रकली विकले आफ्नै घरमा स्याहार गर्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button