तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा माटो परिक्षण शिविर सञ्चालन

विराटनगर । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउन किसानको घरदैलोमा विभिन्न शिविर सञ्चालन गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङले माटोको उर्वरा शक्ति बढाउन मोरङको जहदा गाउँपालिकामा माटो परिक्षण शिविर सञ्चालन गरेको छ ।

माटोको सूक्ष्म तत्त्वको अवस्था र त्यसको उपचार विधिका विषयमा किसानलाई जानकारी गराउन परियोजनाले एक दिने शिविर सञ्चालन गरेको हो ।

परियोजनाको सहयोगमा माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीबाट परिक्षण भ्यानसहित आएको प्राविधिक टोली सञ्चालन गरेको शिविरमा पालिकाका ६५ किसानले आफ्नो खेतबारीको माटो परिक्षण गराएका थिए ।

परिक्षण गरिएको माटोको म्याग्नेसियम, पोटास, सल्फर तथा फस्फोरसको अवस्था तथा माटोको उर्वरा शक्ति बढाउन कुन विषादी प्रयोग गर्ने र आफ्नो खेतबारीमा मलको मात्रा कति प्रयोग गर्ने विषयमा माटो परिक्षण गर्ने किसानलाई स्वायल हेल्थ कार्ड उपलब्ध गराउने परियोजना प्रमुख विनोदकुमार मण्डलले बताउनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले कृषि उत्पादन बढाउन जहदा गाउँपालिकाले माटो परिक्षण तथा कोल्ड स्टोर स्थापना लागी बजेट छुट्ट्याएको भन्नुहुँदै सहज बजारका लागी तरकारी सङ्कलन केन्द्र आवश्यक रहेको बताउनुभयो ।

अत्यधिक रासायनिक मलको प्रयोगले माटोमा उर्वरा शक्ति ह्रास भइरहेको अवस्थामा आफ्नै पालिकामा शिविर सञ्चालन भएपछि किसान उत्साहित भएका छन् ।

स्थानीय कृषक देवानन्द साहले माटो परिक्षण भएपछि आउने नतिजा सहितको स्वायल हेल्थ कार्डले उत्पादन बढाउन मद्दत पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button