तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुर राजधानी तोकिएपछि वीरगन्जमा विरोध प्रदर्शन

बीरगंज । मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगन्जमा कालो झन्डासहित लगातार प्रदर्शन भइरहेको छ ।

सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेपछि सोको विरोधमा वीरगन्जमा हिजो साँझदेखि नै प्रदर्शन भइरहेको हो ।

नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाइमा आज दिउँसो वीरगन्जमा निस्केको कालो झन्डासहितको जुलुसले आदर्श नगर, माईस्थान, घण्टाघर हुँदै नगर परिक्रम गरेर पुनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरूले मुख्यमन्त्री राउतविरुद्ध नारा लगाउँदै मधेस आन्दोलनका वेला वीरगन्जलाई नै राजधानी बनाउने वाचा गरेका मधेसका नेताहरूले सत्तामा पुगेपछि वाचा भुलेको आरोप लगाएका थिए ।

सोही क्रममा प्रदर्शनकारीहरूले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट मुख्यमन्त्रीको घरको सिसा फुटेको छ ।

मुख्यमन्त्रीको घरमा ढुङ्गा प्रहार गरी तोडफोड भएसँगै अहिले उहाँको घर अगाडी सुरक्षाकर्मी परिचालन गरेको छ ।

यता पर्साको पोखरीयामा नेकपा एमाले पोखरीया नगर कमिटीको आयोजनामा जनकपुर राजधानीको विरोध गर्दै जुलुस निकालिएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्व सांसद राजकुमार गुप्ताको अगुवाइमा निकालिएको जुलुसले नगर परिक्रमा गरी मुख्यमन्त्री लालबाबु राउतको पुतला समेत दहन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button