तपाईँ सुन्दै हुनुहुन्छः

२० औँ आहा ! रारा गोल्डकपको तयारी पुरा

कास्की । माघ ६ गतेबाट पोखरा रङ्गशालामा सञ्चालन हुने आहा ! रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ ।

माघ ६ गते दिउसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लब बिच खेल हुने आज पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो ।

कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिएसँगै आयोजना हुन लागेको उक्त प्रतियोगितामा जिल्ला प्रशासन कार्यालय कास्कीले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै २० औँ संस्करणलाई सुचारु गरिएको क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले बताउनुभयो ।

माघ १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सङ्कटा क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल ए. पी. एफ क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी क्लब र सहारा क्लब पोखराको सहभागिता रहने सहारा क्लबका महासचिव रामजी अधिकारीले बताउनुभयो ।

गत वर्षको विजेता सङ्कटा क्लब र उप विजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो ।

“खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौँ”भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित मोफसलको बहु प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि विजेताले नगद १० लाख १ हजार र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button