तपाईँ सुन्दै हुनुहुन्छः

बाख्रापालनबाट कुँवरको मासिक आम्दानी ६ लाख

माघ । वालिङ १४ सिख्रेका तेजबहादुर कुँवरले बाख्रापालन गर्नुभएको ११ वर्ष पुग्यो । २० महिना कतार गएर आउनुभएका कुँवरले आफ्नै गाउँ ठाउँमा केही गरौँ भन्ने हेतुले विगत ११ वर्षदेखि निरन्तर बाख्रापालन गर्दै आउनुभएको छ ।

३७ वर्षीय कुँवरको ‘अस्बिन बोयर बिडर बाख्रा फर्म’मा अहिले ४५ बाख्राहरू छन् । उहाँको फर्ममा १०० प्रतिशत बोयर, स्थानीय खरी, तोतापारी, सिरै जातका बाख्राहरू छन् ।

महिनामा ५० हजार हुन्छ भनेर कतार पुग्नुभएका कुँवरलाई कतारमा रहँदा महिनामा बिस हजार कमाउन पनि मुस्किल पर्‍यो । रसिया जानकै लागी गरिएको लगानी उठाउन उहाँले भारतमा समेत काम गर्नुभयो । भारतबाट कतारतिर लाग्नुभएका कुँवरको कतार बसाई १८ महिनामै टुङ्गियो ।

नेपाल फर्केपछि घरमा एउटा मात्रै बाख्रा थियो । कतारको कमाई कतार जानकै लागी गरिएको खर्चमै सीमित भयो । घर फर्केर १ लाख रुपैयाँ ऋण लिएर व्यावसायिक बाख्रापालन शुरु गर्नुभएका कुँवरले अहिले घर, खेत जोड्नुभएको छ भने बाख्रा फर्ममा ३० लाखको लगानी गरिसक्नुभएको छ ।

उहाँको फर्ममा ३ लाख बढीका शतप्रतिशत बोयर जातका बोका र माउ बाख्राहरू छन् । दुई वटा खोर बनाएर बाख्रा पालन गर्नुभएका कुँवरको फर्मबाट मासु प्रयोजनका लागि र बिउ बोकाहरू बिक्री हुँदै आएका छन् । बजारीकरणमा कुनै समस्या नभएको भन्दै उत्पादन गर्न सकियो भने घरमै ग्राहकहरू आउने गरेको समेत उहाँले बताउनुभयो ।

मासुभन्दा बिउमा बढी मुनाफा हुने भएकाले उहाँले बिउ बोका उत्पादनमा जोड दिनुभएको छ । ११ वर्षसम्म बाख्रापालनमै रमाउनुभएका कुँवरलाई आगामी दिनमा व्यवस्थित खोर विस्तार गरी कृषि तथा पशुपालनमै जीवन बिताउने योजना छ ।

यो अवधिमा उहाँले एक पटक मात्रै ७ दिने बाख्रापालन तालिम लिनुभएको छ, अनुभवले अझ परिपक्व बनाएको छ ।

बाख्रालाई आवश्यक पर्ने घाँसको भने अलि समस्या रहेको उहाँले बताउनुभयो । जग्गा भाडामा लिएर उहाँले नेपियर लगायतका विभिन्न घाँस समेत लगाउनुभएको छ । विदेशमा हुँदा युट्युबमा हेरिएको बाख्रापालन भिडियोले उहाँलाई बाख्रापालनमा आकर्षित गरेको हो ।

जिल्ला पशु शाखा कार्यालयबाट २ लाख ८५ हजार अनुदान लिनुभएका कुँवरको दैनिकी बाख्राकै स्याहार सुसारमा बित्छ । श्रीमती र छोराछोरीको लालनपालन तथा घर खेत जोड्न समेत भ्याउनुभएका कुँवरले मासिक ६ लाखको आम्दानी गर्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button