२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रावतीमा भूकम्प स्मारक र भृकुटी शान्ति पार्कको शिलान्यास

देवराज सुवेदी २०७८ माघ २ गते १९:२८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भूकम्प स्मारक र भृकुटी शान्ति पार्कको शिलान्यास भएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा यी संरचना बन्ने भएका छन् ।

शिलान्यास कार्यक्रमको अवसरमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले “इन्द्रावती गाउँपालिकालाई ऐतिहासिक रुपमा चिनाउनु नै हाम्रो पहिचान हो । यस्ता खाले संरचनाले आउने भावी पुस्ताले अध्ययन, अनुसन्धान गर्ने ठाउँको रुपमा यो ठाउँलाई चिन्नेछन् । यो नै हाम्रो लागी गौरवको कुरा हो ।” भन्नुभयो ।

गाउँपालिकाले ऐतिहासिक रुपमा अघि सारेको योजनाहरूमा उपलब्ध श्रोतलाई मध्यनजर गर्दै काम गरिरहेको पनि अध्यक्ष तामाङले जानकारी दिनुभयो । पर्यटकीय स्थल अन्तर्गत पार्क बनाउन लागेको उहाँले बताउनुभयो । थामन ह्युल्साको रुपमा चिनिएको ठाउँलाई अब भृकुटी पार्कको रुपमा चिनाउन लागेको उहाँले बताउनुभयो । यसका साथै २०७२ सालको भूकम्पमा परी ज्यान गुमाएकाहरूको सम्झनामा भूकम्प स्मारक बनाइएको उहाँले जानकारी दिनुभयो ।

नेपाल चिनको दौत्य सम्बन्ध रहेको समयमा भृकुटीको विवाहमा यही बाटो प्रयोग गरेको किम्बदन्ती रहेको छ । सोही किम्बदन्तीको आधारमा हालसम्म भएका अभिलेखको आधारमा भृकुटी पार्क निर्माण हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ ।

पहिलो चरण अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उढ्ययन मन्त्रालयको ७० प्रतिशत र इन्द्रावती गाउँपालिकाको ३० प्रतिशत लागतमा सो पार्क बन्न लागेको हो । टप एस.एन, नवोदय/आर.डी.आर जेभी जोरपाटी काठमाडौँले सो पार्कको निर्माणको लागी ठेक्का सम्झौता गरेको छ ।

यसका साथै भर्खरै सम्पन्न इन्द्रावती गाउँपालिकाको १० औँ गाउँ सभाले सिपाघाट, ज्यामीरेमाने, नवलपुर ओखरेनी सडक मार्गलाई भृकुटी मार्ग नामाकरण गरेको छ ।

सम्बन्धित