२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

एक महिने माधवनारायण मेलाबारे अन्योल

रेडियो नेपाल २०७८ माघ २ गते १५:२५

भक्तपुर . भक्तपुरको हनुमानघाटस्थित त्रिवेणी घाटमा सुरु हुने भनिएको माधवनारायण व्रत तथा मेला अन्योलमा छ । 

नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको उक्त मेलाबारे यस वर्ष कोरोनाका कारण अन्योल भएको हो । 

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला सोमबारदेखि सुरु हुने भए पनि कोरोना भाइरसका कारण आजसम्म अन्योल नै छ । 

जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी सहभागी नहुन निर्देशन दिएको छ । ब्रतालुले आज जिल्ला प्रशासन कार्यालय र भक्तपुर नगरपालिकामा व्रत तथा मेला निरन्तरताको माग गरेका छन् । 

माधवनारायण धलौँ (व्रत) सेवा समिति हनुमानघाटका अध्यक्ष उद्धव खाइतुले सयौँ वर्षदेखिको मेला अन्योलमा परेको र परम्परा रोकिने डर भएपछि प्रशासन र नगरपालिका धाएको  बताउनुभयो । 

व्रत बस्ने सबैले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र व्रत परम्परा धान्न नौ जनाभन्दा बढी ब्रतालु नबस्ने गरी परम्परा चलाउन खोजेको उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परम्परा र धार्मिक कार्य रोक्ने प्रशासनको मनसाय नभएको तर २५ जनाभन्दा कम सङ्ख्यामा स्वास्थ्य मापदण्ड अपनाएर परम्परा चलाउन सकिने बताउनुभयो । 

हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिन हनुमानघाटस्थित त्रिवेणीमा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमामा सम्पन्न हुने गरेको छ । रासस

सम्बन्धित