तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली काबुल प्रस्थान

काठमाडौँ अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली आज काबुलतर्फ प्रस्थान गरेको छ ।

परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालसहितको नेपाली टोली आज बिहान हिमालय एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेको हो ।

खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडासहित झन्डै १२ टन मानवीय सहायता सामाग्री लिएर नेपाली टोली त्यसतर्फ गएको हो ।
मानवीय सहायता सहयोग सामग्री बोकेको टोलीले हवाईजहाज मार्फत अफगानिस्तानको राजधानी काबुल पुगेर विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गर्नेछ ।

परराष्ट्र मन्त्री नारायण खड्काले त्रिभुवन विमानस्थलमा प्रवक्ता लम्साल सहितको नेपाली टोलीलाई बिदाइ गर्नुभयो । गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम(डब्लूएफपी)ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button