माघे सङ्क्रान्तिमा चेपाङ बालबालिकालाई नेवारी खाना

चितवन । पूर्वी चितवनको रत्ननगर–१०, मङ्गलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्र (चेपाङ छात्रावास)मा आश्रित चेपाङ विद्यार्थीहरूलाई माघे सङ्क्रान्तिको अवसरमा नेवारी खाना खुवाइएको छ ।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था तथा सुकुल रेस्टुरेन्ट रत्ननगर–१, सौराहा चोकको आयोजनामा चेपाङ बालबालिकाहरूलाई सांस्कृतिक नेवारी भोज (लप्ते भ्वये) गराइएको हो ।

चेपाङ समुदायलाई पनि नेवारी भोजको बारेमा जानकारी दिलाउन यस प्रकारको कार्यक्रम गरिएको सहकारीकी सौराहा चोक शाखा प्रमुख जुलि भट्टले जानकारी दिनुभयो । सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज चेपाङ बालबालिकालाई विभिन्न १५ प्रकारका परिकार खुवाइएको शाखा प्रमुख भट्टले बताउनुभयो ।
त्यस अवसरमा चेपाङ केन्द्रका अध्यक्ष केपी किरण शर्मा, सुकुल रेस्टुरेन्टका प्रमुख द्वय आर्जित खडका र दिपक श्रेष्ठ, सहकारीकी सदस्य राधा गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
चेपाङ केन्द्रमा चितवनको पहाडी विपन्न बस्तीका २ सय चेपाङ बालबालिका आवासीय रूपमा रही अध्ययन गरिरहेका छन् । केन्द्रको दिगो आम्दानीको श्रोत नहुँदा विपन्न चेपाङ विद्यार्थीहरूलाई पढाउन र आवासीय रूपमा व्यवस्थापन गर्न सहयोगी दाताहरूकै भर पर्नुपरेको केन्द्रका अध्यक्ष शर्माले बताउनुभयो ।

सहकारीले हाल सौराहा चोकमा गार्डेन मार्ट पनि सञ्चालन गर्दै आएको छ । मार्ट परिसरमा सहकारीले आगामी १ महिनाभित्र पहिलो नेवारी सुकुल रेस्टुरेन्ट समेत सञ्चालन गर्दै छ ।
देशको विभिन्न स्थानमा यस प्रकारको रेस्टुरेन्ट खोल्ने योजना समेत रहेको भट्टले बताउनुभयो । सो रेस्टुरेन्टमा भक्तपुरे नेवारी खाना पाइने उहाँले बताउनुभयो ।
हाल उक्त सहकारीका देशभर २४ वटा ग्राहक सेवा केन्द्र, १५ वटा गार्डेन मार्ट समेत सञ्चालित छन् ।
प्रतिक्रिया राख्नुहोस्