तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सामग्री र खोप व्यवस्थापनमा लाग्न प्रदेश मन्त्री लामाको निर्देशन

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशमा बढ्दो कोरोना जोखिम नियन्त्रण, रोकथाम र उपचारमा कुनै कमी नहुने गरी स्वास्थ्य सामग्री र खोप व्यवस्थापनमा लाग्न निर्देशन दिनुभएको छ । 

हेटौँडास्थित स्वास्थ्य आपूर्ति केन्द्रको स्वास्थ्य सामग्री भण्डारण र खोप भण्डारण स्थलको निरीक्षण गर्नुहुँदै मन्त्री लामाले स्वास्थ्य सामग्री र खोप व्यवस्थापनको अवस्था सन्तोषजनक रहे पनि थप व्यवस्थापनमा लाग्न निर्देशन दिनुभएको हो । 

निरीक्षणका क्रममा उहाँले कोभिडका लागि आवश्यक स्वास्थ्य सामग्री, अन्य औषधि, कोभिड खोप र अन्य नियमित खोपको मौज्दात र भण्डारण व्यवस्थापनबारे जानकारी लिनुभएको थियो । 

उहाँले कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहँदा अक्सिजनको माग बढ्ने भएकाले प्रदेशका अस्पतालमा रहेका अक्सिजन प्लान्टलाई सञ्चालन गर्न तयारी अवस्थामा राख्न र १३ वटै जिल्लाका स्वास्थ्य इकाईहरूमा स्वास्थ्य सामग्रीबारे निरन्तर अपडेट गर्न निर्देशन दिनुभयो । 

मन्त्री लामालाई केन्द्रका प्रमुख डा.अर्जुन सापकोटाले स्वास्थ्य सामग्री र खोपको मौज्दात र आपूर्तिको आगामी योजनाबारे जानकारी गराउनुभएको थियो । 

निरीक्षण टोलीमा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button