तपाईँ सुन्दै हुनुहुन्छः

ईन्द्रावती गाउँपालिकाले किसानलाई दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने

सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिकाले किसानलाई कृषिबाट आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत विक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिन लागेको हो ।

गाउँपालिकाको १० औँ अधिवेशनमा सभाले पालिकाको कृषि उपज सङ्कलन, प्रशोधन तथा विक्री केन्द्र सञ्चालन तथा व्यवस्थापन र दूधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ । गाउँपालिका अध्यक्ष वंशलाल तामाङले कार्यविधि स्वीकृत भएसँगै किसानले दूधमा प्रतिलिटर दुई रुपैयाँ पाउने बताउनुभयो ।

‘इन्द्रावती समृद्धिको आधार–शिक्षा–कृषि–स्वास्थ्य–पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ गाउँ सभाको दसौँ अधिवेशन गरिएको हो ।

कृषि क्षेत्रलाई व्यवस्थित गराउनका लागि गाउँपालिकाले सहकारी तथा तरकारी सङ्कलन केन्दकोसमेत स्थापना तथा प्रवर्द्धन गरेको छ । किसानलाई अनुदान दिने कार्यविधि पारित भएसँगै कृषकहरू व्यावसायिक उत्पादनतर्फ उन्मुख हुन हौसिएको गाउँपालिकाको दाबी छ ।

यसैगरी गाउँपालिकाले ईन्द्रावती नदी किनारमा वर्षौँदेखि भोगचलन हुँदै आइरहेको ऐलानी जग्गा नापी,नक्सा गर्न आवश्यक बजेट व्यवस्था गर्ने निर्णयसमेत पारित गरेको छ । गाउँसभाले सिपाघाट–ज्यामिरेमाने–नवलपुर–सिम्पालकाभ्रे सडकलाई भृकुटी मार्ग नामकरण गर्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ।

सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले पालिकाले आर्थिक वर्ष ०७७–७८ को हालसम्म हासिल गरेका मुख्य–मुख्य उपलब्धिहरूको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । यो आर्थिक वर्षमा गाउँपालिकाले १९.८१ प्रतिशत मात्रै खर्च गरेको बताउँदै शर्माले बाँकी योजना सम्झौता र भुक्तानीका क्रममा रहेको उल्लेख गर्नुभयो । गाउँ सभाले चौमासिक समीक्षासँगै योजना संशोधन र रकमान्तर, करका दर र दायरा थप तथा संशोधन, ऐन, कार्यविधि, निर्देशिका स्वीकृत एवं खरिद समिति र मूल्याङ्कन समिति गठनलगायतका एजेण्डा पारित गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button