तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ः सर्वदलीय, सर्वपक्षीय छलफल सम्पन्न

विराटनगर । प्रदेश नं.१ सरकारले कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा आज राजनीतिक दलहरूसँग प्रदेश स्तरीय सर्वदलीय, सर्वपक्षीय छलफल गरेको छ ।

रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा छलफल आयोजना गरिएको हो ।

छलफल कार्यक्रममा मुख्यमन्त्री राईले कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले राजनीतिक दलहरूको दलीय संयन्त्र आधारभूत तहसम्म हुने भएकाले दलहरू र तिनका भ्रातृ सङ्गठनको परिचालनले रोगविरुद्ध लड्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

कोरोनाको तेस्रो लहर सकेसम्म निषेधाज्ञा वा लकडाउन गर्ने अवस्था नआउने गरी सामना गर्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिनुभयो ।

छलफलमा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कोभिड रोगविरुद्ध सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकार मिलेर लड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सामाजिक विकास मन्त्री जयराम यादवले रोगको संक्रमण फैलिएको अवस्थामा राजनीतिक दलहरूलाई भिडभाड हुने खालको कार्यक्रम नगरी दिन अपिल गर्नुभयो ।

छलफलमा राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस प्रदेश नं. १ अध्यक्ष उद्धव थापा, सोही पार्टीका संसदीय दलका सचेतक सूर्यराज राई, नेकपा माओवादी केन्द्र प्रदेश नं. १ अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं.१ सचिव महेश रेग्मी, जनता समाजवादी पार्टी प्रदेश नं. १ अध्यक्ष प्रवीण चाम्लिङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चाम्लिङ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं.१ सचिव वासुदेव भट्टराई लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली र सामाजिक विकास मन्त्रालयका तर्फबाट वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईँले रोगविरुद्ध भए गरेका प्रयासबारे प्रकाश पार्नुभएको थियो ।

छलफल कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, १ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी, सशस्त्र प्रहरी बल पकलीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, राष्ट्रिय अनुसन्धान १ नं. प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक प्रकाशराज पाण्डे, नेपाली सेना थलाहा गणका प्रमुख सेनानी अमृत थापा मगरले कार्यालयबाट भए गरेका कामका बारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button