२०७८ साल माघ १० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा मास्क वितरण अभियान सुरु

विश्वराम अधिकारी २०७८ पुष ३० गते १८:२९

मकवानपुर । मकवानपुरमा आजबाट कोरोना संक्रमण नियन्त्रणका लागि अनिवार्य मास्क अभियान अन्तरगत मास्क वितरण अभियान सुरु भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार अनिवार्य मास्क लगाऔँ, स्वास्थ्य मापदण्ड पालना गरौँ भन्ने उद्देश्यले आजबाट जिल्लाका सार्वजनिक तथा यातायात स्थलहरूमा मास्क प्रयोग अभियान सुरु गरिएको हो ।

पुरानो नारायणी यातायात कम्पनी प्रालि मकवानपुरले कोभिड ओमीक्रोन भेरियन्टबाट बच्न र बचाउनका लागि सचेतनामूलक पर्चा तथा मास्क वितरण अभियानलाई सुरु गरेको छ ।

मास्क वितरण अभियानको प्रजिअ भरतमणि पाण्डेसहितको टोलीले सुरुवात गरेको थियो । प्रजिअ पाण्डेले हेटौँडा— १० स्थित बसपार्कमा रहेका पसल तथा बसका यात्रुहरूलाई मास्क वितरण गर्नुहुँदै मास्क अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

यस्तै जिल्लाभित्र खोपको दायरा बढाइ सार्वजनिक स्थलहरूमा आवतजावत गरिने सर्वसाधारणका लागि अनिवार्य खोप कार्ड प्रयोगको तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

कोभिड ओमिक्रोन भेरियन्ट सङ्क्रमणबाट बचौँ र बचाऔँ, सामाजिक दुरी कायम गरौँ, अनावश्यक भेटघाट नगरौँ, पटक पटक साबुन पानीले हात धुने र स्यानिटाइजर लगाउने नाराहरूका पर्चाहरू बाँडिएका छन् । यसैगरी एकता र सहकार्य नै बल हो, शक्ति हो, मानव जगतमा आएको कोभिड विरुद्ध एकताबद्ध बनौँ, एकता र सहकार्यबाट कोभिडलाई परास्त गर्न सकिन्छ भन्ने सचेतनासहित पर्चा तथा मास्क वितरण गरिएको थियो ।

अभियानमा प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ, सामुदायिक प्रहरी उपकेन्द्र मकवानपुरका अध्यक्ष प्रदीप कँडेल, यातायात कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

चेतनामूलक पर्चा र मास्क वितरण अभियानलाई मकवानपुरका ९ स्थलमा सञ्चालन गर्ने जनाइएको छ ।

सम्बन्धित