तपाईँ सुन्दै हुनुहुन्छः

मदानी चौरमा खानेपानी अभाव, डेढ सय परिवारको एउटै धारा

सुर्खेत । पूर्वी सुर्खेतको मदानी चौरका बासिन्दालाई शुद्ध पिउने पानीका लागि अहिले पनि दैनिक पाँच घण्टा पालो कुर्नुपर्ने बाध्यता छ । 

भेरीगंगा नगरपालिका–१०, मदानी चौरका स्थानीय अहिले पनि शुद्ध पिउने पानीका लागि सास्ती भोगिरहेका छन् । 

छिन्चु सहर नजिकैको मदानेचौर बस्ती भए पनि डेढ सय घरधुरीको एउटै धारा हुँदा दैनिक पाँच घण्टा पालो कुरेर पानीको जोहो गर्नुपर्ने बाध्यता कायमै छ । 

गाउँमा पिउने पानी अभाव भएको वर्षौँ बितिसक्दा समेत स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ । मदानी चौरका करिब डेढ सय घरपरिवारले एउटै धाराको पानी उपभोग गर्दै आएका छन् । 

पर्याप्त स्रोत अभावले चैत, वैशाखमा घण्टौँ लाइनमा बसेर पानी भर्नुपर्ने मदानी चौरवासीको बाध्यता छ । स्थानीयलाई तिर्खा मेटिने गरी पिउन पानीको जोहो गर्न सकस हुने गरेको छ । 

साउनदेखि फागुनसम्म केही सहज भए पनि चैत, वैशाखमा पानीको हाहाकार हुने गरेको स्थानीयको भनाइ छ । 

चैत, वैशाखमा गाउँको एउटै धारामा दुईदेखि पाँच घण्टा पालो कुरेर पिउने पानी भर्दै आएको स्थानीय दीपक बिसीले बताउनुभयो । 

“मदानी चौर पूरै गाउँका लागि एउटा मात्रै धारो छ” उहाँले भन्नुभयो, “अरू बेला त अलि पुग्छ । गर्मी मौसम सुरु हुने बित्तिकै चार÷पाँच घण्टा पालो कुरेर पानी भर्नुपर्ने बाध्यता छ ।” 

नुहाउने, लुगा धुने तथा पशु चौपायालाई खुवाउन पनि त्यही धाराको पानी प्रयोग गर्दै आइरहेको उहाँले बताउनुभयो । 

गर्मी मौसम सुरु हुने बित्तिकै गाउँभरि नै हाहाकार हुने हुँदा प्यास मेटिने गरी पिउने पानी जुटाउनसमेत गाह्रो हुने गरेको स्थानीय टीका रानाले बताउनुभयो ।

 

उहाँले गोर्खा वेलफेयर स्किमको सहयोगबाट आर्थिक २०७२/०७३ सालमा करिब १ करोड लागतमा निर्माण गरिएको खाने पानी आयोजनाले केही घरधुरीमा सुविधा पुगे पनि उक्त आयोजना आठ महिनामै अवरुद्ध भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार आयोजना पुनः सञ्चालनमा ल्याउन समितिले चासो नदेखाउँदा पानीको समस्या कायमै रहेको हो । 

“निर्वाचनका बेला भोट माग्न यहाँ आउने सबै दल र नेताहरूले गाउँमा खाने पानी पुर्‍याउने वाचा गर्नु हुन्छ”, उहाँले भन्नुभयो, “२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा दलहरूले मदानी चौरवासीलाई खाने पानी आयोजना बनाइदिने बाचा गरे पनि कार्यान्वयन गरेनन् ।” 

खाने पानीका लागि स्थानीयले पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत कसैले चासो नदिएको उहाँको गुनासो छ । 

भेरीगंगा नगरपालिका उपप्रमुख रेणु ढकालले अबको डेढ वर्षभित्र मदानी चौर गाउँमा खाने पानी समस्या समाधान हुने दाबी गर्नुभयो । 

“मदानी चौरमा खाने पानी ल्याउन आयोजनाको काम सुरु भएर ट्याङ्की निर्माण र पाइप खरिद भइसकेका छन्”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीलाई तोकिएकै समयभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिइसकेकाले छिट्टै खाने पानी समस्या समाधान हुन्छ ।” 

उपप्रमुखले आयोजना तोकिएकै समयभित्र निर्माण गर्ने दाबी गरे पनि निर्माणमा भइरहेको ढिलासुस्तीसँगै पर्याप्त पानीको स्रोत अभावका कारण तत्कालै गाउँको खाने पानी समस्या समाधान नहुने नगरपालिकाकै प्राविधिकहरू बताउनहुन्छ । 

नगरपालिकाका इन्जिनियर विजय खत्रीका अनुसार पानीको स्रोत सीमित भएकाले घर–घरमा तत्कालै धारा पुग्ने अवस्था छैन  । “हाल रिजर्भ ट्याङ्की निर्माण र पाइप खरिदको काम भएको छ”, उहाँले भन्नुभयो, “मुहानबाट रिजर्भ ट्याङ्कीमा पानी पुर्‍याउने मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि आयोजनाले आफ्नै विद्युत् ट्रान्सफर्मर राख्नुपर्नेछ ।” 

उहाँले नगरपालिकामा त्यससम्बन्धी जनशक्ति नहुँदा आयोजनाको काम अघि बढाउन ढिलाइ भइरहेको बताउनुभयो । 

“मुहानको पानी ट्याङ्कीसम्म ल्याउन मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि छुट्टै ट्रान्सफर्मर राख्नुपर्ने हुन्छ” उहाँले भन्नुभयो, “त्यसका लागि नगरपालिकासँग इलेक्ट्रिकल इन्जिनियरिङसम्बन्धी जनशक्ति नहुँदा थप समस्या भएको हो ।” 

उहाँका अनुसार आयोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्मको अवस्थाले समयमै सम्पन्न हुन कठिन देखिन्छ । 

भेरीगंगा नगरपालिकाले क्रमगत योजनाअन्तर्गत आपधारा लिफ्ट खाने पानी आयोजनामार्फत मदानी चौरसम्म पानी पुर्‍याउन हालसम्म करिब डेढ करोड खर्च गरिसकेको १० नम्बर वडाध्यक्ष विजयी खत्रीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button