२०७८ साल माघ १० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

बडीमालिकाले गर्‍यो गौरवका आयोजना पारित

राजेन्द्र बिक २०७८ पुष ३० गते १७:१९

बाजुरा । बडीमालिका नगरपालिकाको नगर सभाले नगर विकासका लागि सात वटा आयोजना अघि सारेको छ । 

नगर सभाबाट पारित निर्णयलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिकीकरण गरिएको हो । बुधवार सम्पन्न बडीमालिका नगरपालिकाको १०औँ नगर सभाले उक्त आयोजना पास गरेको थियो ।

 ‘समृद्ध नगर खुसी नगरबासी’ भन्ने नारालाई पछ्याउँदै सात वटा गौरवशाली आयोजना पास गरेको नगर प्रमुख पदम बडुवालले बताउनुभयो ।

नगरपालिकाले अघि सारेका गौरवका योजनामा बडीमालिका (कबल्टा)एयरपोर्टलाई प्रमुख प्राथमिकतामा राखिएको छ। उक्त आयोजनाको डीपीआर यसै वर्षदेखि तयार गरिने भएको छ । जसका लागि प्रदेश सरकारबाट २० लाख रुपैयाँ विनियोजन भइसकेको छ ।

त्यस्तै, बडीमालिकालाई विश्वमा चिनाउने अभिप्रायले बडीमालिका पर्यटन विकास आयोजना र बुढाकोर्धमा फूल चढाउन केबलकार आयोजना सञ्चालन गरिने भएको छ ।

बाढी–पहिरोले प्रभावित बूढीगंगा आसपासका नागरिकको  सुरक्षाका लागि नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना पनि नगर सभाले पास गरेको छ । 

मार्तडीलाई नमुना सहरका रूपमा विकसित गर्न नमुना सहर विकास आयोजना, स्थानीय उत्पादनलाई बढवा दिन बढीमालिका औद्योगिक विकास क्षेत्र परियोजना, सदरमुकामस्थित नगर स्तरीय बृहत् खेलकुद मैदान परियोजना लगायतका जनमुखी आयोजना अघि सारिएको नगर उपप्रमुख कविता विष्टले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको हो ।

नगर सभाले बिरेखोला झरना संरक्षण तथा व्यवस्थापन कार्यविधि–२०७८ लगायत चार वटा कार्यविधि, स्थानीय स्वास्थ्य विधेयक–२०७८ लगायत १० वटा नयाँ विधेयक पारित गरेको छ।

सम्बन्धित