तपाईँ सुन्दै हुनुहुन्छः

साझा उम्मेदवार विजयी बनाउन लुम्बिनीका १२ जिल्लामा गठबन्धनको अभियान

रुपन्देही । लुम्बिनीका सत्ता साझेदार पाँच दलीय गठबन्धनले राष्ट्रियसभाको निर्वाचनमा आफ्ना साझा उम्मेदवारलाई जिताउन प्रदेशका १२ जिल्लामा अभियान सञ्चालन गर्ने रणनीति तयार गरेका छन् । 

नेपाली काँग्रेस, नेकपा एस र राष्ट्रिय जनमोर्चाका तीन जना साझा उम्मेदवारलाई राष्ट्रिय सभामा विजयी बनाउन १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने तयारी गठबन्धनमा सहभागी दलका नेताले सहमति गरेका छन् । 

लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसका युवराज शर्मा बाँके, नेकपा एसका राज्यलक्ष्मी श्रेष्ठ पाल्पा र जनमोर्चाका तुलबहादुर बिक (राजेश) रुपन्देही गरी तीन जना सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भइसकेको छ । 

राष्ट्रियसभा सदस्यको १९ सिटमध्ये ३ सिटका लागि आगामी माघ १२ गते हुन गइरहेको निर्वाचनमा मतदाताका रुपमा रहेका स्थानीय तहका प्रमुख उपप्रमुख, प्रदेश सभाका सदस्यहरु र प्रतिनिधिसभाका सदस्यहरूको जिल्लागत भेला गरी लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताई प्रतिगमन विरुद्धको लडाइँमा प्रतिगमनकारीलाई परास्त गर्नु मूल लक्ष रहेको नेताहरूले दाबी गरेका छन् । 

अभियान सफल पार्न पाँच दलका सभापति, अध्यक्ष र नेताहरू सम्मिलित मूल व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ । 

मूल समितिमा नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नेकपा माओवादी लुम्बिनी प्रदेशका नेता सुदर्शन बराल, नेकपा एसका अध्यक्ष मेटमणी चौधरी, जसपाका अशोक यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेको र आगामी माघ २ गतेबाट निर्वाचनका सन्दर्भमा भेटघाट गर्ने, प्रचार प्रसार गर्ने, भोट सुरक्षित गर्ने, जिल्लामा भेला गर्ने लगायतका कार्य तालिका तय गरिएको बताइएको छ । 

मूल समितिका सदस्य एवं माओवादी नेता सुदर्शन बरालले २ गतेदेखि १२ गतेसम्मका लागि निर्वाचन प्रचार प्रसार कार्य तालिका तयार गरिएको बताउनुभयो ।

नेता बरालका अनुसार मूल व्यवस्थापन समितिको सहयोगका लागि प्रदेशसभाका प्रमुख सचेतक र सचेतकहरूको सहभागितामा निर्वाचन परिचालन समिति पनि गठन गरी कार्यक्रम अघि बढाई सकिएको छ । 

जसमा नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्धिन खान, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, नेकपा एसका रमा घर्ती, जसपाका निर्मला मुडभरी र जनमोर्चाका तारा जिसी रहेको नेता बरालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button