तनहुँ । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा विगत तीन महिनादेखि शल्यक्रिया सेवा नियमित रुपमा सञ्चालन हुँदै आएको छ ।
अस्पतालले शल्यक्रिया सेवा दिन थालेसँगै यस क्षेत्रका नागरिकहरूलाई राहत मिलेको छ ।
सामान्य शल्यक्रियाका लागि समेत पोखरा लगायतका देशका विभिन्न स्थानमा पुग्नुपर्ने बाध्यतालाई निराकरण गर्न सेवा थप गरिएको अस्पतालका निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार पनि अस्पतालमा हाडजोर्नीका समस्यासहित आएको सेवाग्राहीको शल्यक्रियामार्फत उपचार गरिएको छ ।
हातको समस्यासहित पुगेको बिरामीको शल्यक्रियामार्फत हातमा प्लेट राख्न सफल भएको अस्पताल स्रोतले जनाएको छ ।
सोमबार डा.विद्याभूषण ताम्राकार र डा.रमेश घिमिरेले अस्पतालमा रहेको सिआर्म मेसिनको माध्यमबाट शल्यक्रिया गरिएको थियो ।
हप्तामा दुई दिन सोमबार र बिहीबार नियमित रुपमा शल्यक्रिया सञ्चालन हुँदै आएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अस्पतालको सेवा थप गर्ने तयारीमा रहेको बताउँदै सरकार र स्थानीयको सहयोगले उत्साह थपिएको बताउनुभयो ।
उहाँका अनुसार पछिल्ला समय अत्याधुनिक सेवा सहितका आधुनिक मेसिनहरू अस्पतालमा जडान गरिएको छ । चालु आर्थिक बर्ष भित्र नै विशेषज्ञसहित श्वासप्रश्वास सम्बन्धी उपचार सेवा सुरु गर्ने तयारी भइरहेको समेत डा.श्रेष्ठले जानकारी दिनुभयो ।