तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीहरू आफ्ना सदस्यहरूप्रति उत्तरदायी बन्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरू आफ्ना सदस्यहरूप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिनु भएको छ । 

काठमाडौँमा आज आयोजित राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको १८औँ वार्षिक साधारण सभा, एकाइ प्रतिनिधिहरूको सभामा मन्त्री श्रेष्ठले समुदाय तर्फ सदैव जिम्मेवार बनेर आम मानिसको भरोसा बढाउनु सहकारीको दायित्व भएको बताउनुभयो । 

मन्त्री श्रेष्ठले सहकार्यको भावनामा सञ्चालन हुने निकाय सहकारीमा सबैभन्दा बढी ब्याज रहेको भन्ने व्यापक रुपमा जनगुनासो आइरहेकाले यसलाई तत्काल निकास दिन आवश्यक रहेकोमा जोड समेत दिनुभयो ।

उहाँले “सहकारीको सिद्धान्त, उद्देश्य, र मर्म अनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारी प्रति बचतकर्ताको विश्वासमा कमी आएको देखिएको छ, सहकारी क्षेत्रमा देखिएका चुनौती र जोखिमलाई न्यूनीकरण गर्दै यस क्षेत्रप्रति आम नागरिकको विश्वास र भरोसा बढाउँदै लगानी गर्न आकर्षित गर्नु सबैको दायित्व हो”, भन्नुभयो ।  

मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण हुने भन्दै सहकारीहरूलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनु पर्नेमा दुई मत नरहेको पनि बताउनुभयो ।

सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकाले सोही अनुसार भिजन पेपर तयार पारिरहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
 सहकारीको सिद्धान्त मूल्य मान्यता र प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै संविधानमा समृद्धिको आधार स्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारीताका साथ अघि बढाउन राष्ट्रिय सहकारी बैङ्कले अझै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा पनि मन्त्री श्रेष्ठले जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button