तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम बंगालको जल्पाइगुडीमा रेल दुर्घटना, सातजनाको मृत्यु, कयौँ घाइते

भद्रपुर, झापा । नेपालको झापासँग सीमा जोडिएको भारतको पश्चिम बङ्गालमा बिकानेर–गुवाहाटी एक्सप्रेस रेल दुर्घटना भएको छ । रेल दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने कयौँ यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार साँझ ५ बजे पश्चिम बंगलाको जलपाइगुढी जिल्लाको मयनागुरीको डोमहनी नजिकै गुडिरहेको रेलको डब्बा (बोगी) लिकबाट बाहिर खसेपछि दुर्घटना भएको थियो । १२ वटा बोगी लिकभन्दा बाहिर खसेको थियो । दुर्घटनामा चार–पाँच बोगी पूर्णरुपमा क्षति भएको छ । दुर्घटना हुँदा रेलको गति ४० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।

रेल दुर्घटनामा अहिलेसम्म सात यात्रुको मृत्यु भएको पुष्टि जलपाइगुढीका डीएम मोमिता गोद्रा वसुले गर्नुभएको छ । अझै पनि धेरै यात्रु बोगीमुनि दबिएको उहाँले बताउनु भयो ।

घाइते ४० जना यात्रुलाई उद्धार गरी म्यानागुरी र जलपाइगुढी अस्पतालमा भर्ना गरिएको छ । रेल दुर्घटनाको खबर पाए लगत्तै स्थानीय प्रशासन, प्रहरीका उच्च अधिकारी घटनास्थल पुगेका थिए ।

सो रेलमा राजस्थानका ८ सय ७२ जना सवार थिए । बीकानेरबाट ३ सय ८ र जयपुरबाट ५ सय ६४ यात्रु चढेका थिए । सो रेल गुवाहुटी गइरहेको थियो । भारत सरकारले दुर्घटनामा मृतक भएकाहरूलाई ५ लाख, गम्भीर घाइतेलाई १ लाख र सामान्य घाइतेलाई २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button