तपाईँ सुन्दै हुनुहुन्छः

सेनाले बाँड्यो स्थानीयलाई कम्बल

जाजरकोट । नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका ११, जगतीपुरका ६५ घर परिवारलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ । साथै शिव शङ्कर माध्यमिक विद्यालयका अति विपन्न र दलित विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हो । 

श्री नं. ४ बाहिनी अड्डा अन्तर्गत चन्दननाथ गणले सो राहत सामग्री वितरण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामेले बताउनुभयो । परोपकारी काम गर्दै आएको सेनाले पहिलो चरणमा छाक टार्न मुस्किल भई भारत जाने परिवारलाई उक्त राहत सामग्री दिइएको छ । 

राहत पाएपछि स्थानीयले सेना आफ्नो लागि भगवानका रुपमा आएर सहयोग गरेको बताए । जसलाई सहयोग माग्दा पनि कसैले हेरेका थिएनन् तर सेनाले सहयोग गरेको छ, निकै खुसी लागेको स्थानीयको भनाइ छ । 

चन्दननाथ गणले हालै मात्र जाजरकोट जिल्ला सदरमुकाम खलङ्गामा रातिको समयमा विपदमा परेका घाइते र सिकिस्त बिरामीलाई हेलिकप्टरबाट आकस्मिक उद्धार गर्न सहज हुने गरी रात्रिकालीन अवतरण सुविधायुक्त हेलिप्याडको निर्माण सम्पन्न गरेको छ । 

सेनाले प्रदान गरेको शैक्षिक र खेलकुदका सामाग्रीहरू विद्यार्थीहरूको लागि अति उपयोगी हुने बताउँदै विद्यालयका प्रधानाध्यापक रामलाल आचार्यले नेपाली सेनालाई धन्यवाद समेत दिनु भयो । कोरोना महामारीको विद्यमान असहज परिस्थितिमा पनि आफ्नै घर आँगनमा आएर नेपाली सेनाले राहत, शैक्षिक एवं खेलकुदका सामग्रीहरु वितरण गरेकोमा निकै खुशी लागेको भेरी ११ का वडा अध्यक्ष लक्ष्मी प्रसाद जैसीले बताउनुभयो । 

सर्वसाधारण जनताको सुख दुःखमा नेपाली सेना सदैव साथमा रहँदै आएकोमा गौरव लागेको वडा अध्यक्ष जैसीको भनाइ छ । राहत वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेस प्रसाद देवकोटा, प्रहरी नायब उपरीक्षक मधुकमार थापा, राष्ट्रिय अनुसन्धान प्रमुख ओम खड्का लगाएको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button