तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

तनहुँ । आफ्नै साथीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले एक युवकलाई पक्राउ गरेको छ । 

जिल्लाको व्यास नगरपालिका– ११ दरैपधेरा निवासी २३ वर्षीय पूजन तिवारीले पोखरा घर भएका २६ वर्षीय किरणकुमार गुरुङको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

कोदालो प्रहार गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । बिहान गुरुङको हत्या भएपछि घटनास्थल पुगेको प्रहरीले हत्या गरेको व्यक्ति फरार भएपछि खोजी गरेको थियो । 

बिहीबार बिहान आफ्नो घर नजिकै हत्या गरेपछि फरार रहेका तिवारीको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालको कमाण्डमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।

डुम्रे बजारमा सवारी साधनको चेकजाँच गरी अभियुक्तलाई पक्राउ गरिएको प्रमुख  मैनालीले जानकारी दिनुभयो । 

घटनाको थप अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button