२०७८ साल माघ १० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री आलेद्वारा मझगाउँ विमानस्थलमा बन्ने संरचनाहरूको शिलान्यास

हरिश्चन्द्र बाग २०७८ पुष २८ गते १८:१७

कञ्चनपुर । दुई दशक अघिदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक भौतिक संरचनाहरू निर्माणको शिलान्यास गरिएको छ । 

लामो समयदेखि बन्द रहँदा प्रयोगविहीन भई गौचरणमा परिणत भएको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक संरचना निर्माणको शिलान्यास गरिएको हो । 

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मझगाउँ विमानस्थलमा बन्ने संरचनाहरूको बुधवार शिलान्यास गर्नुभएको छ । 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले मझगाँउ विमानस्थलमा छिट्टै विमान सञ्चालन हुने बताउनुभयो । मझगाउँ विमानस्थलमा १ हजार ५ सय २५ मिटरको रनवेलाई बढाएर २ हजार ५ सय मिटर पुगाउने समेत उहाँले उद्घोष गर्नुभयो । 

त्यस्तै, मन्त्री आलेले कैलालीको धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो । 

उहाँले सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थलहरूलाई स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ ।

२०३० सालदेखि २०५६ सालसम्म नियमित सञ्चालन भएको विमानस्थल त्यसयता बन्द अवस्थामा रहेको छ । २२ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल पुनः सञ्चालनका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको आर्थिक साझेदारी र सबै पक्षको सक्रियतामा काम अगाडि बढेको बताउँदै कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्ट र पूर्व मन्त्री रमेश लेखकले उक्त विमानस्थललाई आर्थिक समृद्धिसँग जोड्ने मेरुदण्डका रुपमा हेरिएको बताउनुभयो । 

मझगाउँ विमानस्थल पुनः निर्माणका लागि लाग्ने कुल लागतको ५० प्रतिशत नेपाल सरकारले, २५ प्रतिशत सुदूरपश्चिम प्रदेश सरकारले, १५ प्रतिशत भीमदत्त नगरपालिकाले र १० प्रतिशत दोधाराचाँदनी नगरपालिकाले लगानी गरेको बताइएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले प्रदेश सरकारले कञ्चनपुरको मझगाँउ विमानस्थल सञ्चालनका लागि कुल लागतको २५ प्रतिशत बजेट सम्बन्धित निकायमा पठाइसकेको बताउनुभयो । 

तीनै तहका सरकारको साझेदारी र आम नागरिकको महत्त्वपूर्ण योगदानमा पुनः सञ्चालनको तयारी भइरहेको विमानस्थलमा आवश्यक पूर्वाधार निर्माणको काम समयमै सम्पन्न गरिनु पर्नेमा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट र दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनारले जोड दिनुभयो । 

त्यस्तै, नागरिक उड्डयनको इतिहासमा पहिलो पटक तीनै तहका सरकारको साझेदारीमा विमानस्थल पुनः निर्माणको कार्य हुन लागेकोले नेपालकै लागि उदाहरणीय र प्रेरणाको विषय रहेकोले प्राधिकरणले गर्नुपर्ने सहयोग र सहकार्यमा कुनै पनि किसिमको कमी नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेयले प्रतिबद्धता जनाउनुभयो । 

विमानस्थल सञ्चालनका लागि १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण गरिने छ । 

निर्माणको ठेक्का पाएको कान्छाराम केएस जेभी निर्माण सेवाले वि.सं. २०८१ माघ ८ गते भित्र संरचना निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने छ । संरचना निर्माण सकिए लगत्तै महेन्द्रनगर–काठमाडौँ हवाई सेवा सुरु हुने बताइएको छ । 

विमानस्थल पुनः सञ्चालनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हुँदादेखि नै सांसद द्वय डा. दीपक प्रकाश भट्ट र निरु देवी पाल तथा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट लगायतले पहल गर्नुभएको थियो । ओली सरकारकै पालामा अगाडि बढेको विमानस्थल पुनः सञ्चालनको प्रक्रिया अहिले भौतिक संरचना शिलान्यासको चरणमा पुगेको छ ।

सम्बन्धित