तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा पाँच महिनामै १४ करोड बढी राजश्व सङ्कलन

जुम्ला । जुम्लामा चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा झण्डै १४ करोड राजश्व सङ्कलन भएको छ । आन्तरिक राजश्व कार्यालय जुम्लाको पाँच महिनाको निर्धारित लक्ष्य भन्दा ६ करोड बढी राजश्व उठेको हो । 

पाँच महिनामा करिब ८ करोड ७४ लाख ४८ हजार राजश्व सङ्कलनको लक्ष्य राखिएको थियो । तर मङ्सिर अन्तिम सम्मको रेकर्ड अनुसार ६ करोडले बढेर झण्डै १४ करोड ४५ लाख ७१ हजार बढी राजश्व सङ्कलन भएको आन्तरिक राजश्व कार्यालय जुम्लाका सूचना अधिकारी सत्येन्द्र गुरुङले बताउनुभयो । निर्धारित लक्ष्यभन्दा ६ करोड बढी राजश्व सङ्कलन हुनु राम्रो पक्ष हो ।  

उहाँका अनुसार पछिल्लो समयमा बढ्दै गएको करदाता शिक्षा तथा कर अनुसन्धानका कारण राजश्व सङ्कलनमा वृद्धि हुँदै आएको छ । जसमा आयकर,घर बहाल कर,ब्याज कर,कुल आयकर, मूल्य अभिवृद्धि कर,अन्तःशुल्क कर लगायतका करिब २८ वटा शीर्षकबाट राजश्व सङ्कलन भइरहेको छ । 

आन्तरिक कर परीक्षण तथा अनुसन्धानलाई बढाउँदा र करको दायरालाई विस्तार सँगै गाउँ गाउँमा करशिक्षा दिएकै कारण चालु आवको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको सूचना अधिकारी गुरुङले जानकारी दिनुभयो ।  

साथै जुम्लामा क्रमिक रुपमा करदाता पनि थपिँदै गएका छन् । गत आवमा ११ हजार २५ जना करदाता रहेको जुम्लामा हाल करिब १२ हजारले झण्डै २३ हजार ६ सय १४ जना करदाता सङ्ख्या रहेको छ । 

जसमा आयकरतर्फ १२ हजार ७ सय ५९ जना, मूल्य अभिवृद्धि तर्फ १५ सय ७५ जना, अन्तःशुल्क तर्फ ५ सय ८० जना, व्यक्तिगत प्यान तर्फ ११ हजार १ सय ८१ जना र संस्थागत प्यानतर्फ १ सय ७ जना गरी करिब २३ बढी करदाता रहेको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ । 

त्यस्तै मालपोत कार्यालय जुम्लाले पनि चालु आर्थिक वर्षको पहिलो चौमासिकमा झण्डै एक करोड राजश्व सङ्कलन गरेको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्र रोकायाले बताउनुभयो । उहाँका अनुसार जग्गा नामसारी, अंशबन्डा, राजीनामा लगायत विभिन्न शीर्षकमा राजश्व सङ्कलन भएको छ । जम्मा उठेको राजश्व मध्य ६० प्रतिशत सम्बन्धी स्थानीय तह र ४० प्रतिशत प्रदेशमा पठाइने प्रमुख रोकायाको भनाई छ । 

यातायात सेवा कार्यालय जुम्लाले पनि चालु आवको हाल सम्म ५६ लाख ५४ हजार ६ सय ६० रुपैयाँ राजश्व सङ्कलन गरेको छ । २ सय ९० सवारी दर्ता, लाइसेन्स, बिलबुक, सवारी नामसारी लगायतका शीर्षकबाट राजश्व सङ्कलन हुने गरेको यातायात सेवा कार्यालयका सूचना अधिकारी लोक बहादुर महतले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button