तपाईँ सुन्दै हुनुहुन्छः

थारु समुदायको बडघर प्रथाले पायो कानुनी मान्यता

कञ्चनपुर । थारु समुदायले परम्परादेखि मान्दै आएको बडघर प्रथाले कानुनी मान्यता पाएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको दशौँ नगर सभाले बडघर संस्था परिचालन ऐन २०७८ पारित गरेपछि यो प्रथाले कानुनी मान्यता प्राप्त गरेको हो ।

नगर सभाले पारित गरेको ऐनमा बडघर र भलमन्साको चयन, कार्यक्षेत्र, काम कर्तव्य अधिकार क्षेत्र, मर्यादा लगायतका प्रावधान समेटिनुका साथै कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियम विपरीत नहुने गरी काम गर्न सकिने उल्लेख गरिएको छ ।

पारित गरिएको ऐनमा नगरपालिकाका जनप्रतिनिधिसँग समन्वय गर्ने, गाउँमा रहेका सानातिना झैझगडा समाधान गर्ने, गाउँ टोलमा आइपर्ने जुनसुकै काममा सक्रिय सहभागिता जनाउने लगायत समुदायमा सामाजिक, सांस्कृतिक र आर्थिक सद्भाव कायम राख्ने कार्य बडघर र भलमन्साको काम कर्तव्य अधिकारभित्र रहेको उल्लेख गरिएको छ ।

अबदेखि बडघर र भलमन्सा संस्थाको प्रत्येक वर्षको गरेको कार्य र गतिविधिको लेखाजोखा हुन्छ र सोको विवरण सम्बन्धित वडा कार्यालय र टोलमा वार्षिक समीक्षा गरिनेछ र संस्थाले वार्षिक रुपमा यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।

बडघर छनोट गर्नका लागि चौधरी थारु समुदायमा प्रत्येक वर्ष माघ महिनाको पहिलो हप्ता तथा माघ मसान्तभित्र र राना थारु समुदायमा असार १ गतेदेखि मसान्तसम्म समय सीमा समेत निर्धारण गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button