तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा समुदाय स्तरमै कोरोना फैलिएको पुष्टि

वीरगंज । बीरगंज हुँदै भारतीय सीमावर्ती रक्सौलमा बजार गर्न गएका व्यक्तिहरूमा कोरोना संक्रमण भेटिएसँगै वीरगंजमा कोरोना समुदायमा फैलिएको पुष्टि भएको छ । 

आइतबार र आज वीरगंजसहित विभिन्न स्थानबाट रक्सौलमा बजार गर्न गएका २४ जनामा कोरोना संक्रमण देखिएको र उनीहरू मध्ये अधिकांश बीरगंजका बासिन्दा रहेको वीरगंज महानगरपालिकाद्वारा इनर्वामा स्थापित हेल्थ डेस्ककी इन्चार्ज डा.अनिषा महतोले बताउनुभयो ।

वीरगंज रक्सौल नाका हुँदै आवतजावत गर्नेहरूको विगत ५ दिनयता गरिएको परीक्षणमा ७० जनाभन्दा बढीलाई कोरोना संक्रमण भेटिएको डा. महतोले बताउनुभयो ।

यसअघि, भारतको दिल्ली, कोलकतालगायत विभिन्न स्थानबाट रेलमार्ग हुँदै नेपाल भित्रिएका भारतीय तथा नेपालीहरूमा संक्रमण देखिएकोमा आइतबारदेखि समुदाय स्तरमै कोरोना फैलिएको पुष्टि भएको डा.महतोले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्ड समेत संक्रमित भएपछि अहिले स्थानीय प्रशासनमा मास्क नलगाई आउने सेवाग्राहीलाई कार्यालय भित्र प्रवेश निषेध गरिएको छ । 

वीरगंज नाका भएर दैनिक दुई हजारभन्दा बढी आवतजावत गर्ने भए पनि हाल सरदरमा पाँच सय जनाको मात्रै एन्टिजेन परिक्षण हुँदै आएको इनर्वा हेल्थ डेस्क इन्चार्ज डा. अनिशा महतोले बताउनुभयो ।

दैनिक दुई हजारको हाराहारीमा ओहोरदोहोर गर्ने नाकामा एउटा मात्रै हेल्थ डेस्क र त्यहाँ १२ जना मात्रै कर्मचारी अपर्याप्त भएको बताउँदै डा.महतोले आवतजावत गर्ने सबैलाई परीक्षणको दायरमा ल्याउन थप जनशक्तिको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । 

वीरगंज नाकामा गरिएको परीक्षणको क्रममा १४ वर्षदेखि ५० वर्ष उमेर समूह व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ भने अधिकांश सङ्क्रमितहरूमा लक्षण नदेखिएको र सामान्य रुघाखोकी मात्रै रहेको देखिएको छ । 

वीरगञ्ज तथा आसपासका सङ्क्रमितहरूलाई होम आइसोलेसनमा बस्ने व्यवस्थासहित आफन्तको जिम्मा लगाई पठाउने गरिएको र वीरगंज बाहिरका सङ्क्रमितलाई पठाउन समस्या भइरहेको डा.महतोले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button