तपाईँ सुन्दै हुनुहुन्छः

भोलिबाट माघ १५ गतेसम्म देशभरका विद्यालय बिदा दिने सरकारको निर्णय

File Photo

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ गतेबाट माघ १५ गते सम्म देशभरिका विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ ।

कोभिड-१९ को संक्रमण तीव्र रूपमा फैलिनुका साथै ओमिक्रोन भेरियन्टको सङ्क्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य, सुरक्षाको विषयलाई विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक बिदामा मिलान हुने गरी बिदा दिने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । 

बिदाको उक्त अवधिमा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेकोले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकाहरूलाई पठाइदिनुहुन सबै अभिभावकहरूमा समेत अनुरोध गरेको छ । 

बिदाको अवधिमा विद्यालयहरूले सिकाई सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन समेत निर्देशन दिएको छ । 

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्व निर्धारित सेमेस्टर र वार्षिक परीक्षाका कार्यक्रमहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना हुने गरी जेड आकारमा बसाइँ व्यवस्था गरी सञ्चालन गर्ने गरी प्रबन्ध गर्न समेत सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

हिजो बसेको सिसिएमसी को बैठकले माघ १५ गतेसम्म देशभरका विद्यालयहरू बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button