तपाईँ सुन्दै हुनुहुन्छः

‘इन्जिनियरहरूको पेशागत संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध’

बीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले देश निर्माणमा इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण रहेको हुँदा उनीहरूको हक हित तथा पेशागत संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले परिवर्तनका परिकल्पनाकार इन्जिनियरको एकताले नै समृद्धि हासिल गर्न सकिनेमा जोड दिनुभयो । नेपाल ईन्जिनियर्स एसोसिएसनको ३३ औँ निर्वाचनका लागि एकीकृत प्रगतिशील इन्जिनियर समूहले वीर गन्जमा आयोजना गरेको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले हालसम्म भएका विकास निर्माणमा इन्जिनियरको भूमिकालाई मूल्याङ्कन गर्ने विषयमा प्रदेश सरकार सचेत रहेको बताउनुभयो ।

उहाँले इन्जिनियरको उत्पादन र दक्ष जनशक्तिको निर्माण गर्ने अभिप्रायले प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पास गरेको समेत बताउनुभयो ।

नेपाल इन्जिनियर समाजका केन्द्रिय सह अध्यक्ष सञ्जीव नारायण यादवको सभापतित्वमा सम्पन्न सभालाई एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट अध्यक्षका उम्मेदवार ई.डा. हरिराम पराजुली, महासचिव पदका उम्मेदवार ई.डा. शङ्कर ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा लायन्स क्लबका इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान, वी आई टी ईन्जिनियरींग कलेजका क्याम्पस प्रमुख राघिव हुसैन, नेपाल इन्जिनियर एसोसिएसनका केन्द्रिय कोषाध्यक्ष रामएकवाल यादव, भ्यालुयर्स एसोसिएसन पर्साका अध्यक्ष ई.मुन्ना कुमार सर्राफ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button