तपाईँ सुन्दै हुनुहुन्छः

घट्यो सुर्खेत–काठमाडौं हवाई भाडा

सुर्खेत । नागरिकको चौतर्फी विरोधपछि आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको छ । गुण एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रतिस्पर्धामा आउँदा आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको हो । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले नियमित उडान सुरु गरेपछि सुर्खेत–काठमाडौं उडानमा बुद्ध एयरको एकाधिकार तोडिएसँगै भाडादर सस्तिएको हो ।

बुद्ध एयरले गुण एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न यात्रु भाडादर घटाएको हो । गुण एयरलाइन्सले शनिवारको भाडादर ६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । साथै क्यास ब्याक ४० रुपैयाँको व्यवस्था गरेको छ । त्यस्तै, १५० रुपैयाँ रिवार्ड दिएको छ । बुद्ध एयरलाइन्सले पनि शनिवारको भाडादर ६ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

बुद्धले ४० रुपैयाँ क्यास ब्याकको व्यवस्था गरेको छ भने रिवार्ड १५० रुपैयाँ दिएको छ । भाडादर केही सुलभ भएपछि नागरिकले अझै घट्नुपर्ने भन्दै दबाब दिइरहेका छन् । तर, अफसिजनमा विदेशी पर्यटकको आगमन कम हुनुका साथै कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारणले भाडा घटाउनु परेको एयरलाईन्स कम्पनीहरूको भनाइ छ ।

यसअघि यात्रुबाट बुद्ध एयरले सुर्खेत–काठमाडौं हवाई भाडा  ८ हजार २५० देखि ११ हजार रुपैयाँसम्म एकलौटी असुल्दै आइरहेको थियो ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धि र दसैँ तिहार जस्ता चाडबाडका कारण महँगिएको हवाई भाडा देशैभर सस्तिए पनि सुर्खेतमा भने घटेको थिएन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button